इम्बार्क अनम्याथको गणित शिक्षामा नयाँ आयाम

काठमाडौं । नेपालमा गणित शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले सुरु गरिएको उद्यमशील गणित कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ। 

इम्बार्क अनम्याथ प्राइभेट लिमिटेडले विकास गरेको यो एक वर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिने जनाइएको छ ।

पारम्परिक कक्षाकोठाको भित्ताबाट बाहिर निस्कँदै यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने खालको रहेको इम्बार्कले जनाएको छ । गणितलाई केवल अंकगणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ ।

कार्यक्रमको संरचना

३० कार्यदिवशमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ । प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । यस क्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् ।

त्यसपछि सामर्थ्य र व्यावहारिकताको मूल्याङ्कन, टिम निर्माण, र सम्पूर्ण व्यावसायिक मोडेल तयार पार्ने चरणमा पुगिन्छ। विद्यार्थीहरू आफैले बनाएको व्यापारिक अवधारणालाई व्यावसायिक योजनाको रूपमा प्रस्तुत गर्न सिक्छन् ।

स्टार्टअप फेस्ट २०२५

डिसेम्बरमा आयोजना हुने स्टार्टअप फेस्ट २०२५ मार्फत विद्यार्थीहरूले आफैले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउनेछन् । कार्यक्रममा सिकाइको समीक्षा, उपलब्धिको मूल्याङ्कन र भविष्यका योजनाहरू तयार पारिनेछ । 

यस अवधिभर विद्यार्थीहरूले वित्तीय योजना, लगानीको मूल्याङ्कन, समस्या समाधान, बजार विश्लेषण लगायतका विषयमा अभ्यास गरेर गणितको व्यवहारिक पक्षमा गहिरो दक्षता हासिल गर्नेछन् ।

शिक्षामा रूपान्तरणको संकेत

प्रोटोटाइप विकास, प्रिरेभिन्यू योजना, उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया जस्ता अभ्यासहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र उद्यमशील सोचलाई मजबुत बनाउँछ । यस्तो किसिमको सिकाइले परीक्षामुखी शिक्षाभन्दा बाहिर गएर जीवनोपयोगी सीप र दृष्टिकोणको विकासमा टेवा पुर्याउँछ । 

हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, यूरो स्कूल हात्तीगौंडा र आलोक विद्याश्रम जस्ता शिक्षालयहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् । यसले के देखाउँछ भने नेपालमै नवीन, व्यवहारिक र सान्दर्भिक शिक्षाको अभ्यास सम्भव छ । विदेश जानु महँगो विकल्प बन्ने अवस्थामा, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यहाँकै अवसरको खोजी गर्न प्रेरित गर्दै देशको आर्थिक रूपान्तरणमा सक्रिय बनाउन सक्छ ।

Share News