काठमाडौं । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा पहिलोपटक आफ्नो आधिकारिक कार्यालय सञ्चालनमा ल्याएको छ । सेवा विस्तार र चालक साझेदारहरूसँगको प्रत्यक्ष सम्पर्कलाई प्रोत्साहन गर्न ललितपुरको कुपन्डोलमा कार्यालय स्थापना गरिएको हो ।
नयाँ कार्यालयमार्फत चालकहरूसँग प्रत्यक्ष समन्वय, प्रशिक्षण, सुरक्षा-केन्द्रित कार्यक्रम सञ्चालन तथा स्थानीय बजारअनुकूल सेवा सुधारमा काम गरिने इनड्राइभले जनाएको छ ।
इनड्राइभका एपीएसी क्षेत्रीय निर्देशक मार्क टोलीले भने, 'यो कार्यालय केवल कार्यस्थल होइन, सफल चालक साझेदार तयार पार्ने सपोर्ट सेन्टर पनि हो ।'
इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाललाई कम्पनीका लागि एक प्रमुख बजारको रूपमा उल्लेख गर्दै ललितपुरमा कार्यालय खोलिनु स्थानीय चालकहरूप्रति प्रतिबद्धता भएको बताइन् ।
कार्यालय उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्दै राइड-शेयरिङ सेवाको नियमन र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, 'राइड-शेयरिङ प्रविधि र प्रतिस्पर्धाको युगमा रोक्ने होइन, सहयोग गर्ने माध्यम हो । यसलाई व्यवस्थित गर्न छिटो कानुन ल्याउन आवश्यक छ ।'