कामपा अनुगमन समितिको निष्कर्ष : निर्देशनको कार्यान्वयन सन्तोषजनक

काठमाडौं । काठमाडौं महानगरपलिकाले अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरूको पालना सन्तोषजनक रहेको जनाएको छ । अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा कामपा उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताइन् ।

समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिँदै उनले उक्त जानकारी गराइन् ।

चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डङ्गोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदूषणमुक्त हुनुपर्नेलगायतका निर्देशन दिएकी थिइन् ।

भौतिक पूर्वाधार निर्माण गर्दा अकासे पानी सङ्कलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सिसीटिभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रूपमा विद्युतीय प्रणालीमात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फर्छ्याैटको कार्ययोजना बनाउनेलगायत विषयमा निर्देशन थियो ।

विगत अनुगमनको समीक्षा गर्दै उनले भनिन्, 'बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित कामपाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौं ।' 

अवस्था र आवश्यकतामा कुरा गर्दै उनले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भनिन्, 'केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।'

सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरूलाई प्रतिवेदन पेस गर्न र  यसअघिका आर्थिक वर्षहरूको एकीकृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको छ ।

Share News