काठमाडौं । नेपालको एक प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनवादी गणतन्त्र चीनको राजदूतावास, नागरिक उड्डयन प्राधिकरण नेपालका उच्च पदाधिकारीहरू तथा हिमालय एयरलाइन्स (एच नाइन) का टिम सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
समारोहमा नेपालस्थित चिनियाँ राजदूत महामहिम चेन सङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल र नागरिक उड्डयन प्राधिकरण नेपालका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार, पर्यटन प्रवर्द्धन र व्यापार सञ्जाल सुदृढीकरणमा हिमालय एयरलाइन्सले पुर्याएको योगदानको कदर गरेका थिए ।
हाल हिमालय एयरलाइन्सले नेपाललाई चीन, साउदी अरेबिया, कुवेत, कतार, यूएई, मलेसिया र बंगलादेशसँग हवाईमार्गद्वारा जोडेको छ ।
समारोहमा सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, र विविध जातजातिका भेषभूषामा प्रस्तुत गरिएका कार्यक्रमहरूले नेपालको समृद्ध सांस्कृतिक विविधतालाई उजागर गरेका थिए।
सन् २०१४ मा स्थापना भई २०१६ देखि नियमित उडान सेवा सञ्चालनमा आएको हिमालय एयरलाइन्सले एसिया र मध्यपूर्वका प्रमुख गन्तव्यहरूमा विश्वसनीय अन्तर्राष्ट्रिय सेवा प्रदायकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।
अब नयाँ दशकमा प्रवेश गर्दै हिमालय एयरलाइन्सले सेवा गुणस्तरमा सुधार, उडान सञ्जालको विस्तार र नेपाललाई दक्षिण एसियाको प्रमुख हवाई केन्द्र बनाउने राष्ट्रिय दृष्टिकोणमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।