सवारी आयातमा युआन एलसी खुलाउने प्रावधान परिवर्तन गर्न नाइमाको माग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव दिएको छ ।

बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरूले उनलाई गभर्नर नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा आगामी मौद्रिक नीतिलाई प्रभावकारी बनाउनका लागि सुझावहरू पनि प्रदान गरिएको नाइमाले जनाएको छ ।

नाइमाले सबै प्रकारका सवारीसाधनमा ८०-२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरेको छ । हाल आयातकर्ताहरूलाई चिनियाँ उत्पादनका सवारीसाधनका हकमा चीनमै अवस्थित चिनियाँ कम्पनीहरूसँग मात्रै चिनियाँ युआनमा लेटर अफ क्रेडिट (एलसी) खोल्न अनुमति दिइएकोमा अब जुनसुकै देशका आयातकर्तालाई पनि चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ ।

त्यस्तै, सवारी कर्जाका लागि लागू हुने जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले गभर्नर पौडेलसँग भेट गरी उक्त सुझावहरू दिएको हो । 

Share News