काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट स्वागतयोग्य रहेको बताएका छन् ।
पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना गरेको ‘बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्।
उनले 'गत वर्षको तुलनामा बजेट बढेर आएको भए पनि हाम्रो अपेक्षाअनुसार न्यूनतम २५ प्रतिशतको हिस्सा पाएका छैनौं,' भन्दै निराशा व्यक्त गरे ।
अध्यक्ष सिंहले हाल बजेटमा समेटिएका ४ हजार ६ सयभन्दा बढी आयोजनालाई सार्वजनिक खरिद ऐन, २०७४ को प्रावधानअनुसार सम्पन्न गरिनुपर्ने बताए ।
उनले निर्माण व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरेर प्राप्त गरेका योजनाहरूलाई प्रशासनिक निर्णयमार्फत खारेज गरिने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए ।
'सरकारले सार्वजनिक ऐन अनुसार जिम्मेवारीका साथ जीर्ण आयोजना सम्पन्न गर्नुपर्छ। हामीसँग ६ अर्बका योजना छन्, ती सरकारले सम्पन्न गरिदिनुपर्छ,' अध्यक्ष सिंहले भने ।
केन्द्र सरकारले आगामी वर्ष ३ करोड रुपैयाँभन्दा कमका आयोजना नल्याउने नीति लिएकोमा सिंहले समर्थन जनाए । 'साना आयोजना हटाउने निर्णय सही हो, यसले प्रणालीमा थोरै भए पनि सुधार ल्याउँछ,' उनले भने ।
बजेटमा निर्माण सामग्रीका सन्दर्भमा सिमेन्टको उल्लेख गरिए पनि त्यसको प्रयोग सुनिश्चित गर्न सिंहले माग गरे । 'सडक विभागले अब बन्ने सडकहरूमा सिमेन्टको प्रयोग सुनिश्चित गरोस्,' उनले आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष सिंहले आगामी योजनाहरू बजेटपछि स्वीकृत भएर आउने अवस्थालाई नीति र कार्यक्रममा सम्बोधन गरिएकामा अर्थमन्त्रीलाई धन्यवाद पनि व्यक्त गरे ।