काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेमाथि कारबाही गरेका हुन् ।
गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउँदै बल प्रयोग गरेको घटनाको जाँचबुझ नसकिन्जेलसम्मको लागि पाण्डेलाई महानगर प्रहरी बल ऐनअनुसार निलम्बन गरिएको जनाइएको छ ।
महानगरका साहयक प्रवक्ता ध्रुवकुमार काफ्लेले नगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा परेको कुरा समाचारबाटै थाहा पाएकोले त्यसमा केही न केही सत्यता भएको बताउँछन् । निलम्बनमै परेको पत्र भने प्रशासनसम्म आइपुगिनसकेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गरेकाे दिन उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूसँग पाण्डेको भनाभन भएको थियो । यस घटनापछि प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण मागेका थिए तर चित्तबुझ्दो जवाफ नआएपछि पाण्डेलाई निलम्बन गरिएको हो ।