खाद्य स्वच्छता दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ नारासहित १७औं राष्ट्रिय खाद्य स्वच्छता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार पत्रकार सम्मेलन गरी विश्व खाद्य स्वच्छता दिवसभन्दा पहिले नै नेपालमा यससम्बन्धी कार्यक्रम हुँदै आएको जानकारी गराएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार विभागले विसं २०६५ देखि नियमितरूपमा खाद्य स्वच्छता दिवस मनाउन थालेको हो ।

सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औं महासभाले सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा यस वर्ष जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार अस्वच्छ तथा दूषित खाद्य पदार्थका कारण विश्वभर वार्षिक झाडापखाला, क्यान्सरजस्ता २०० भन्दा बढी रोग सर्ने गरेका छन् । 

प्रत्येक १० जनामध्ये १ जना विषाक्त खाद्यको सेवनका कारण बिरामी हुने गरेका छन् भने वार्षिक ४ लाख २० हजार मानिसको मृत्यु खाद्यजन्य रोगका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसमध्ये झाडापखालाबाट मात्रै करिब ५५ करोड मानिस प्रभावित हुने र २ लाख ३० हजारको ज्यान जाने गरेको छ।

डब्लुएचओको अध्ययनअनुसार नेपालमा तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एन्टिबायोटिकको असर, र खाद्यान्नमा ढुसीजन्य विष (माइकोटक्सिन) को समस्या देखिएको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र पोषिलो खाद्यको अधिकार सुनिश्चित गरेको छ । सोही अनुसार सङ्घीय संसद्ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी गर्दै यस क्षेत्रको कानुनी संरचना संशोधन र एकीकरण गरेको छ ।

उक्त ऐनमार्फत खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक आधारमा स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने, उपभोक्ता हित संरक्षण गर्ने, र प्रभावकारी नियमन गर्ने व्यवस्था गरिएको छ ।

Share News