काठमाडौं । यातायात व्यवसायीले सोमबार सार्वजनिक यातायात ठप्प पार्दा यात्रु अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरिका सार्वजनिक यातायात ठप्प पारेका हुन् ।
सार्वजनिक यातायात ठप्प हुँदा काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् । सार्वजनिक यातायात नचल्दा यात्रुहरू अलपत्र परेका छन् ।
सोमबार काठमाडौंका सडकमा निजी सवारी साधन मात्रै गुडिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार व्यवसायीले गाडी नचलाउँदा सडकमा निजी सवारीसाधनमात्रै गुडिरहेका छन् ।
सार्वजनिक गाडी नचल्दा बस स्टेशनमा पुगेका यात्रुहरू अलपत्र परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समिति को आह्वानमा आजदेखि देशभर सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्किएका हुन् । अनिश्चितकालीन चक्काजामको घोषणा भएसँगै विशेषगरी काठमाडौं उपत्यकामा यात्रुहरू ठूलो समस्यामा परेका छन् ।
सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय गइरहेका कर्मचारी तथा अस्पताल जानुपर्ने बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । वैकल्पिक सवारीसाधन सीमित हुँदा अधिकांश यात्रुहरू पैदल यात्राबाट गन्तव्यतर्फ लागेका छन् ।
यातायात व्यवसायीहरूले ट्राफिक र प्रहरी प्रशासनमाथि व्यवसायी तथा मजदुरहरूलाई दमन र ज्यादती गर्दै आएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन् । नेपाल यातायात मजदुर संघका अध्यक्ष रवि केसी भन्छन्, ‘सरकार र ट्राफिक प्रशासनको निरन्तरको दमनका कारण हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’
व्यवसायीहरूले पठाओ, इनड्राइभ लगायतका राइड सेयरिङ सेवा तथा ‘सेल्फ ड्राइभ’ प्रणालीविरुद्ध कडाइ गर्न माग गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले आन्दोलन आफ्नो अस्तित्व र अधिकारको रक्षाका लागि गरिएको बताए ।
‘सार्वजनिक यातायात मात्रै होइन, हामी नभए राज्यको प्रणाली नै ठप्प हुन्छ,’ उनले भने, ‘सरकारले माग सम्बोधन गरेन भने आन्दोलन झन चर्किनेछ ।’
राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनसम्बन्धी सरकारी निर्णयको विरोधमा चक्काजाम आह्वान गरिएको हो । गण्डकी प्रदेश सरकारले ल्याएको सोसम्बन्धी नियमावलीप्रति व्यवसायीहरू आक्रोशित छन् ।
यस विषयमा आज गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच छलफल जारी छ ।