काठमाडौं । विश्वभरका कार उद्योगका उच्च कार्यकारीहरू चीनबाट आउने दुर्लभ चुम्बकीय खनिजको सम्भावित अभावलाई लिएर चिन्तित छन् । यी चुम्बकहरू विन्डशील्ड वाइपर मोटरदेखि लिएर एन्टीलक ब्रेकिङ सेन्सरसम्म धेरै भागहरूमा प्रयोग हुन्छन् ।
कार्यकारीहरूले उत्पादन बन्द हुने स्थितिसम्म पुग्न सक्ने चेतावनी दिइसकेका छन्।
मे ९ मा ट्रम्प प्रशासनका अधिकारीहरूलाई पठाएको पत्रमा जनरल मोटर्स (जीएम), टोयोटा, फक्सवागन, ह्युन्डाई लगायतका ठूला कार कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यावसायिक संगठनका प्रमुखले गम्भीर चासो व्यक्त गरेका छन् ।
'यी महत्त्वपूर्ण तत्व र चुम्बकहरूमा भरपर्दो पहुँच बिना अटोमोटिभ आपूर्तिकर्ताहरूले अटोमेटिक ट्रान्समिसन, थ्रोटल बडी, अल्टेर्नेटर, विभिन्न मोटरहरू, सेन्सरहरू, सिट बेल्ट, स्पिकरहरू, बत्तीहरू, पावर स्टेयरिङ र क्यामेराहरूजस्ता अनिवार्य अटो पार्टहरू निर्माण गर्न सक्ने छैनन्,' अटोमोटिभ इनोभेशन एलायन्सले ट्रम्प प्रशासनलाई लेखेको छ ।
यो पत्रमा एमईएमए (भेइकल सप्लायर्स एसोसिएसन) ले पनि हस्ताक्षर गरेको छ । पत्रमा भनिएको छ, 'यी अत्यावश्यक अटो पार्टहरू नभए अमेरिकी गाडी कारखानाहरू प्रभावित हुने निश्चित छ ।'
'गम्भीर अवस्थामा उत्पादन मात्रा घटाउनुपर्ने वा सिधै उत्पादन लाइन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्छ,' ती समूहहरूले भनेका छन् ।
एलायन्सका सीईओ जोन बोजेला र एमईएमएका सीईओ बिल लङ्गले शुक्रबार रोयटर्सलाई भनेका छन्, 'यो समस्या अझै समाधान भइसकेको छैन र चिन्ताको विषय रहँदै आएको छ ।' उनीहरूले अमेरिकी प्रशासनले उत्पादन र आपूर्ति श्रृङ्खला अबरुद्ध नहोस् भन्नका लागि चासो देखाएकोप्रति कृतज्ञता व्यक्त गरे ।
बोजेलाले भने, 'यो मुद्दा ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरको जिनेभामा चिनियाँ समकक्षीहरूसँगको छलफलको एजेन्डामा पनि रहेको थियो ।'
ग्रियरले सीएनबीसीसँग शुक्रबार भनेका छन्, 'चीनले दुर्लभ चुम्बकीय तत्वहरू अमेरिकालाई आपूर्ति गर्न प्रतिबन्ध हटाउने सहमति त गरेको थियो, तर त्यसलाई लागू गर्न पर्याप्त छिटो गतिको कार्य भएको छैन । केही खनिजहरूको आपूर्ति अझै पनि रोकिएको देखिन्छ ।'
चीनले अप्रिलको सुरुमै नयाँ नियम लागू गर्दै यी चुम्बकहरूको निर्यात गर्न लाइसेन्स अनिवार्य बनाएको थियो । जसले विश्वभर प्रयोग हुने दुर्लभ चुम्बकहरूको ९० प्रतिशतभन्दा बढी प्रशोधन क्षमता नियन्त्रण गर्छ ।
अप्रिलमा चीनबाट भएका यस्ता चुम्बकहरूको निर्यात आधा घटेको देखिएको छ । किनभने कम्पनीहरूलाई लाइसेन्सका लागि सयौं पृष्ठका कागजात बुझाउनुपर्ने जटिल प्रक्रियाले हैरान बनाएको छ ।
शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेख्दै चीनले यो महिनाको व्यापार सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाए । 'चीनले हामीसँगको सम्झौता पूरै उल्लंघन गरेको छ,' ट्रम्पले लेखेका छन् ।
चीनको वाशिङ्टनस्थित दूतावासले जवाफ दिँदै भनेको छ कि अमेरिकाले अर्धचालक क्षेत्रमा निर्यात नियन्त्रणको दुरुपयोग गरिरहेको छ ।
एक अमेरिकी अधिकारीले रोयटर्सलाई जानकारी दिँदै भने, 'जेनेभाको वार्तामा भर्खरका ट्यारिफ र चीनका गैर-ट्यारिफ उपाय मात्र समेटिएका थिए, अमेरिकी निर्यात नियन्त्रण त्यसमा समावेश थिएनन् ।'
ती अधिकारीले बेइजिङले दुर्लभ चुम्बक निर्यात अनुमति दिन ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाउँदै भने, 'यदि गाडी निर्माताहरू यी खनिजको अभावका कारण उत्पादन रोक्न बाध्य भए भने अमेरिका प्रतिउत्तरस्वरूप निर्यात नियन्त्रण लागू गर्न सक्छ ।'
केही थोरै लाइसेन्स जारी गरिए पनि फक्सवागनलगायत केही आपूर्तिकर्ताहरूलाई मात्रै प्राप्त भएको छ । भारतीय कार कम्पनीहरूले भने अझै पनि लाइसेन्स नपाएको र जुनको सुरुमै उत्पादन रोक्नुपर्ने अवस्था आउने बताइरहेका छन् ।
जर्मन अटो पार्ट कम्पनी बशले यसै साता भनेको छ, 'हाम्रा आपूर्तिकर्ताहरू चीनको कडाइका कारण लाइसेन्स प्रक्रियामा अल्झिएका छन् ।'
चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न