काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताए । पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गरे । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए ।
आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिने बताए । राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै १३ औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरु निस्किए अहिले । अहिले आएर यतिबेला पृथ्वीपथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकतावद्ध बनाउनु छ । पृथ्वीपथले एकतावद्ध ? मारकाट गरेर एकतावद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । यि चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका ? आजका विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने की ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यतिबेलाका महत्वपूर्ण कुरा होलान् । आज हरेकले उद्यमशिलतामा जान जरुरी छ ।’
प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरूको समय नभइ लोकतन्त्र र लोकतान्त्रिकरणको समय भएको जानकारी दिए ।