अटोमोबाइल उद्योगका लागि मैत्रीपूर्ण बजेट, नाडा उत्साहित

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । नाडाले विगतमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागमा अटोमोबाइल क्षेत्रसम्बन्धी नीतिगत सल्लाह र सुझावहरू पेश गरेको थियो, जसलाई बजेटले समेटेको भन्दै नाडाले सरकारलाई धन्यवाद दिएको हो ।

नाडाका अनुसार यस वर्षको बजेट व्यवसायमैत्री मात्रै नभई अटोमोबाइल व्यवसायको दीर्घकालीन माग र आवाजलाई सम्बोधन गर्न सफल भएको छ । नाडाले यस बजेटले उद्यमी, व्यवसायी र समग्र अटोमोबाइल उद्योगलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने विश्वास व्यक्त गरेको छ ।

नाडाले अब आगामी मौद्रिक नीति पनि यसै अनुरूप व्यवसायमैत्री हुने अपेक्षा व्यक्त गर्दै बजेटमार्फत आफ्नो आवाज सुनिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ ।

यस्ता नीतिगत पहलकदमीहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउने र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने कम्पनीको भनाइ छ ।

Share News