विद्युतीय डबल क्याब पिकअपमा अलग कर दर, सिंगल क्याबको कर यथावत

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले विद्युतीय सवारीमा करको दर यथावत राखे पनि विद्युतीय डबल क्याब पिकअप सवारीका लागि भने नयाँ कर संरचना लागू गरेको छ ।

अघिल्लो व्यवस्थाअनुसार विद्युतीय सिंगल र डबल क्याब पिकअपमा एउटै कर लागू हुँदै आएको थियो । यी गाडीहरूलाई अन्य शीर्षक अन्तर्गत राखी १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्कका दरमा भन्सार जाँचपास हुँदै आएको थियो । 

तर, नयाँ आर्थिक ऐनले अब सिंगल र डबल क्याब पिकअपका लागि अलग–अलग उपशीर्षक तोकेको छ । 

सिंगल क्याब पिकअपः नयाँ उपशीर्षक ८७०४.६०.३१ अन्तर्गत राखी १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

डबल क्याब पिकअपः नयाँ उपशीर्षक ८७०४.६०.३२ अन्तर्गत राखी २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ ।

यसअघि पेट्रोलियमबाट सञ्चालन हुने पिकअपहरूमा सिंगल र डबल क्याबका लागि छुट्टाछुट्टै उपशीर्षक र कर दर लागू हुँदै आएको थियो । अब यो नै प्रथा विद्युतीय पिकअपहरूमा पनि लागू गरिएको छ ।

नेपाली बजारमा पछिल्लो समय विद्युतीय पिकअपको माग वृद्धि हुँदै गएको छ । सामान ढुवानीको प्रयोजनका लागि सिंगल क्याब पिकअप बढी प्रयोग गरिन्छ भने डबल क्याब पिकअप निजी तथा लाइफस्टाइल सवारीको रूपमा लोकप्रिय बन्दै गएको छ ।
 

Share News