निषेधित क्षेत्र​​​​​​​ मनास्लुमा हालसम्मकै बढी पर्यटक

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो ।

आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७८२, आव २०७९/८० मा ७ हजार ७०५ र आव २०७८/७९ मा २ हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । 

एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकाेमा ९८.०७ प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उनले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए । 

‘कोभिड पछि पर्यटकको आगमन न्यून थियो,’ आयोजना प्रमुख शेरचनले भने, ‘आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् १९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।’ 

सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा ५ हजार ३३८ र २०७५/७६ मा ७ हजार ६५५ रहेको थियो ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँ स्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ,’ प्रमुख शेरचनले भने । 

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । 

विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ । उक्त अवधिभर चुम भ्यालीका लागि पर्यटकीय सिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए ।

उनका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ ।

साविकका सिर्दीबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविककाे सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो । 

Share News