आफ्नै भूमिकाबाट देश र समाज सुधारको मार्ग

हरिकृष्ण जोशी

आजभोलि प्रायः मानिसहरू समाज बिग्रियो, संस्कृति हराउँदै गए र मानवीय मूल्यहरू खस्किँदै गएको गुनासो गरिरहेकै हुन्छन् । कतिपयले त देशमा केही अवसर नै छैन भनेर निराशा व्यक्त गरिरहेका छन् । यस्ता गुनासाहरू सामाजिक सञ्जालदेखि चिया गफसम्म सबै ठाउँमा सुनिन्छन्  । तर, यस्तो गुनासो गर्नु अघि हामीले एकपटक आफूले आफूलाई प्रश्न गर्न आवश्यक छ, के मैले समाजका लागि केही गरिरहेका छु ? के मैले संस्कृतिको संरक्षणमा कुनै योगदान पुराइरहेको छु ? के म मानवीय मूल्यहरूमा अडिग छु ? जबसम्म यस्ता प्रयत्नहरु हामी आफूले आफैंलाई प्रश्न गरी आत्मसमीक्षा  गर्न सक्दैनाैं तबसम्म समाज, संस्कृति र राष्ट्रको परिवर्तनको अपेक्षा गर्नु केवल कल्पना मात्र हुन्छ ।

समाज र राष्ट्र स्वतः बिग्रिएको हुँदैन समाज र राष्ट्र  त हामीले बिगारेका हुन्छौ जब हामी व्यक्तिगत स्वार्थलाई सामाजिक उत्तरदायित्वभन्दा माथि राख्छौँ, जब हामी सत्यभन्दा सजिलो झूट रोज्छौँ, जब हामी कामभन्दा बहाना खोज्छौँ, तब समाज कमजोर हुँदै जान्छ । समाज भन्नु केवल सरकार वा नेताहरू मात्र होइन, समाज हामी हौं, हामी हरेक व्यक्ति । समाज कुनै एक दिनमा बिग्रिने र एकै दिनमा बन्ने पनि होइन । यो एक क्रमिक प्रक्रिया हो, जसमा हामी सबैको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहको छ । अहिलेको समाज अत्यन्त प्रतिस्पर्धात्मक, व्यस्त, र स्वार्थ प्रधान बन्दै गएको छ । मानिसहरूलाई अब के सही हो ? भन्दा पनि के चाँडो फाइदा पुग्छ ? भन्नेमा चासो छ । यसले गर्दा इमानदारी, करुणा, सहकार्य, आदर, सहनशीलता जस्ता मानवीय मूल्यहरू कम हुँदै गएको छ । हामीहरू यति आत्म केन्द्रित भइसकेका छौँ कि अरूको पीडाप्रति संवेदनशील दर्साउन समेत गाह्रो भइरहेको छ ।

सांस्कृतिक दृष्टिले हेर्दा पनि हाम्रो स्थिति खस्कँदै गएको छ । हाम्रो मौलिकताहरू लोप हुँदै गएका छन् । हाम्रो भाषा, पहिरन, खानपान, परम्परा र चाडपर्वप्रति गौरव गर्ने सोच घट्दो अवस्थामा छ । बरु हामी विदेशी संस्कृतिको अनुकरणमा रमाइरहेका छौं । पछिल्लो पुस्ता मोबाइल र इन्टरनेटको माध्यमबाट अन्तर्राष्ट्रिय प्रभावमा गहिरो रूपमा तानिएको छ । तर, आफ्नै घरको संस्कृति, बाजेको कथा, रीतिथिति र भाषाको महत्व बुझ्न सकिरहेको छैनन् । यसको दोष पछिल्लो पुस्तालाई मात्र  दिन मिल्दैन । शिक्षा प्रणाली, अभिभावक, र समाजका ठूला वर्ग पनि यस्तै असंवेदनशीलतामा रमाइरहेका प्रभाव उनीहरूमा पनि परेको छ । 

मानवीय मूल्यहरूको क्षयीकरण पनि गम्भीर चिन्ताको विषय हो । पहिले मानिसहरूले शिक्षालाई चरित्र निर्माणको माध्यमका रूपमा लिने गर्थे, अहिले भने शिक्षा प्रतिस्पर्धा जित्ने अस्त्र बनेको छ । विद्यार्थीले इमान, अनुशासन, दया, कर्तव्यबोध सिक्नु पर्ने ठाउँमा परीक्षा पास गर्न कति टिप्स छन् भन्ने नै प्राथमिकता राखेर पढिरहेका छन् । यदि यो स्थिति बदलिनुपर्ने हो भने यो केवल पाठ्यक्रम फेरिएर मात्र सम्भव हुँदैन । घर, समाज र शिक्षकहरू सबै मिलेर मूल्यमा आधारित वातावरण निर्माण गर्नु जरुरी छ ।

देशमा केही छैन भन्ने सोच एक किसिमको भाष्य निर्माण भइसकेको छ । निराशावादी सोचले हाम्रो मनोबल कमजोर बनाइरहेको छ र यसले हामीलाई र समाजलाई पनि नराम्रो अस पारिरहेको छ । हामी खाली अरूको आशा गर्ने भयौ, आफ्नो क्षमता अनुसार काम नगरी समाज र राष्ट्रलाई मात्रै गालि गरिरह्यौं । एकचोटि सोचौँ त, के तपाईंले आफ्नो क्षमता अनुसार देशलाई केही दिनुभयो ? केही सिर्जना गर्नुभयो ? केही सकारात्मक परिवर्तन ल्याउन प्रयास गर्नुभयो ? छैन भने अनि समाज र राष्ट्र प्रति किन गुनासो त ?

अन्ततः परिवर्तन सधैं भरी भित्रबाट सुरु हुन्छ । गुनासो गरेर मात्र समाज सुधारिँदैन, संस्कृति जँगिँदैनन्, मूल्यहरू फर्किँदैनन् र देश अगाडि बढ्दैन । त्यसका लागि हरेक व्यक्तिको जागरण, आत्म बोध र सक्रिय योगदान जरुरी छ । परिवर्तनको सुरूवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ । जब हरेक व्यक्तिले आफूले आफूलाई सुधार्ने दिन आउँछ, तब सम्भावनाहरू देखिन थाल्छन्  । देशमा केही छैन भनेर हामीले भन्दै गरेकाे त्यो केवल हाम्रो निराशा हो, यथार्थ होइन । अवसरहरू सदैव हुन्छन्, तर त्यसलाई देख्न सक्ने आँखा हामीसँग हुनुपर्छ ।

देश सुधारिनुपर्छ भने हामीले पहिले आफैँ सुधारिनुपर्छ । देशमा इमानदार नेतृत्व चाहिएको छ भने, पहिला हामी आफैँ इमानदार बन्नु पर्छ । देशमा सदाचार चाहिएको छ भने, हामी आफैँ सदाचारी बन्नु पर्छ तसर्थ परिवर्तनको जिम्मा सरकारलाई,नेतालाई र नीतिलाई होइन हामी आफैले लिनुपर्दछ र भन्न सक्नु पर्दछ परिवर्तन मबाट सुरु हुन्छ ।

(हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।)

Share News