नेपालमा काम गर्न धेरै अफ्ठ्यारो छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपालमा सार्वजनिक पदमा रहेर काम गर्न धेरै अफ्ठ्यारो भएको गुनासो गरेका छन् ।

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी प्रक्रियाका सानातिना त्रुटिका कारण जिम्मेवार अधिकारीहरू अनावश्यक झमेलामा पर्ने अवस्था रहेको बताए ।

महर्जनले २०७८ साल असारको पहिलो साता ललितपुरको धापाखेल क्षेत्रमा आएको बाढीका बेला पीडितलाई तत्कालै महानगरको तर्फबाट २२–२३ लाख रुपैयाँ राहत उपलब्ध गराएको स्मरण गर्दै भने, 'राहत दिनु आफ्नो कर्तव्य ठानेँ, तर अहिले पनि त्यसैको कारण अख्तियारमा बयान दिनुपरेको छ ।'

उनले विपद् व्यवस्थापन जस्तो संवेदनशील अवस्थामा पनि तत्काल निर्णय लिन हिच्किचाउनु पर्ने अवस्था रहेको बताए । 'नेपालमा काम गर्न गाह्रो छ । ऐन, कानुनमा ह्रस्व–दीर्घ नमिल्दा रातो घर (अख्तियार) धाउनु पर्ने अवस्था आउँछ,' उनले भने ।

प्रमुख महर्जनले नियत सफा भए कुनै समस्या नआउने बताए पनि नियमनकारी निकायको निगरानी राम्रा काम गर्नेहरूप्रति पनि कठोर हुन नहुने धारणा राखे । साथै उनले आफ्नो कार्यकालमा ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अन्य प्रतिबद्धता पूरा गरेको दाबी पनि गरे ।

Share News