काठमाडौं । पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी बढेको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि हुन थालेपछि यहाँ होटलमा लगानी थपिँदै जान थालेको हो ।
अन्तर्राष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ ३० करोड रुपैयाँ लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको हो । आईएमई ग्रुप अन्तर्गत रहेर अन्तर्राष्ट्रिय मापदण्डको होटल बागलुङमा पहिलोपटक सञ्चालनमा आएको हो ।
जिल्लामा आउने विशिष्ट तथा अतिविशष्टि पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । बागलुङ कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालयलगायत पर्यटकीय गन्तव्यका कारण पछिल्लो समय बागलुङका होटल भरिभराउ हुन थालेपछि यस क्षेत्रमा लगानी थपिँदै गएको ढकालले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार होटललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘इला कम्फर्ट’ नामाकरण गरिएको हो ।
‘होटलमा पर्याप्त पार्किङको सुविधा छ । ढोरपाटन सिकार आरक्ष र लोकमार्गका कारण पछिल्लो समय यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको हो,’ उनले भने ।
केही महिनाअघि २ करोड रुपैयाँ लागतमा २४ कोठासहितको होटल शीतल सञ्चालनमा आएको थियो । शिक्षक पेसा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका-७ रेशका तालबहादुर कुँवरले २० वर्षको होटल व्यवसायको अनुभवपछि बागलुङ नगरपालिका-४ उपल्लाचौरमा हार्ट शीतल सञ्चालनमा ल्याएका हुन् ।
सानो घरबाट होटल व्यवसाय थालेका कुँवर अहिले बागलुङ बजारको उपल्ला चौरबाट विशिष्टिकृत होटलबाट सेवा दिन थालेका छन् । चार कोठाबाट सुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको उनको भनाइ छ ।
कुँवरले २ करोड रुपैयाँ खर्चेर होटललाई नयाँ व्यवस्थापनका साथ सुविधासम्पन्न पाँचतले घरबाट सेवा दिन थालेका छन् । उनका अनुसार उक्त भवनको मासिक भाडा मात्रै १ लाख रुपैयाँ पर्दछ ।
बागलुङ नगरपालिकाका प्रमुख समेत रहेका वसन्त कुमार श्रेष्ठले उपल्ला चौरस्थित आफ्नै जग्गामा संरचना तयार पारेर होटल ‘रेड एप्पल’ सञ्चालनमा ल्याएका छन् । बागलुङमा आउने पर्यटकले सुविधासम्पन्न होटल नभएको गुनासो गरेपछि उनीहरूको समस्या सम्बोधन गर्न होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
यहाँ अन्तर्राष्ट्रिय मापदण्डको होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छ भने यहाँबाट मुस्ताङ हिँडेका पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ । पाँच वर्षयता बागलुङमा होटल दी राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेस लगायत सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेका छन् ।