काठमाडौं ।रोजगारिको शिलशिलामा दक्षिण कोरियामा पुगेका स्वतन्त्र नेपाली युवाहरुको समुह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले धुर्मुस सुन्तली फाउण्डेशनलाई ११ लाख ८४ हजार ८ सय ६३ रुपैया सहयोग गरेको छ । समुहले उक्त सहयोग रकम कोरियामा रहेका मनकारी तथा सहयोगी भावना भएका नेपाली सहयोगीदाताहरुबाट उठाएको हो ।
समुहले छोटो समयमा उत्त रकम उठाउन आफुहरु सफल भएको बताउदै सहयोग संकलन अभियानका मुख्य संयोजक सर्वजित शाहले फाउण्डेशनलाई सहयोग गर्न पाएकोमा संस्था खुसी भएको बताए । उनले फाउण्डेशनका लागि सहयोग संकलन गर्न पनि सजिलो भएको भन्दै नेपालीहरुको बिश्वास जितेकोमा फाउण्डेशनलाई बदाई तथा शुभकामना समेत दिए । समुहले बर्दिवास २ महोत्तरीमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्तीमा पुगि एक दिनको श्रमदान गदैं उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कोरियामा रहेका करिव ४ सय भन्दा बढी सहयोगीहरु बाट सहयोग रकम संकलन गरिएको थियो । यम श्रेष्ठको अगुवाईमा अभियान्ता एल।बि। श्रेष्ठको संयोजन र समुहमा रहेका अन्य अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग संकलन गरिएको संयोजक शाहले बताए ।
‘देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाईचारा, सद्भाव र एकता कायम गरौं सम्पुर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौं’ भन्ने मुल आशयका साथ आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको अभियानका मुख्य संयोजक सर्वजित शाहले बताए । देश बिदेशमा रहेका नेपालीहरुको बिचमा फाटो र बिबाद नहोस भन्दै अभियानका अभियन्ता द्धय राम दत्त जोशी र अरुण श्रेष्ठले सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नभएको धारणा राखे । धुर्मुस सुन्तलीले गरेको कामको तारीफ गर्नुभन्दा पनि उनिहरुलाई सहयोग गर्नुपर्ने बेला भएको भन्दै अर्का अभियन्ता साजन शर्माले राजनिती र नेतालाईमात्र गालि गरेर समय फाल्नु भन्दा मानविय सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सहयोग संकलन र खुलेर सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै राष्ट्र निर्माणमा आफुहरुलाई थप उर्जा मिलेको बताए । ‘बिश्वको जुनसुकै देशमा रहेका नेपालीहरुलाई पनि देश बिकाश होस भन्ने चाहाना हुन्छ’ अध्यक्ष कट्टेलले भने ‘सबै नेपाली एकजुट भए चाडैं देश समृद्ध र सुन्दर हुन्छ ।’