काठमाडौं । बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा मधेश प्रदेशमा निर्जीवन बीमातर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या २ लाख ५९ हजार ४७५ रहेका छन् ।
निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले १ अर्ब ६० करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी माग गरेका छन् । तर, दाबी भुक्तानीा लागि आवेदन दिएकामध्ये ५ हजार ५८५ लाई १ अर्ब ८ करोड ४३ करोड दाबी भुक्तानी गरिसकेको नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले जनाएको छ ।
नेपाल बीमाप्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको बताए ।
‘हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ । आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ,’ उनले भने ।
यस्तै, चालु आवको ९ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ ।
जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
गत आवको वर्षभरिमा जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट २ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो ।