काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले आफ्नै सहकर्मीहरू माथि अन्याय गरेको गुनासो आएको छ । बुधबार नवनियुक्त गभर्नर डा.विश्व पौडेलको स्वागत कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघले अन्य संगठनका कर्मचारीलाई स्वागत कार्यक्रमको जानकारी नदिई आफ्नै संघमा आबद्ध कर्मचारीहरूलाई मात्रै बोलाएर अन्याय गरेको गुनासो नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरूले गरेका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारीले बिहान साढे १० बजेका लागि आफ्ना सदस्य कर्मचारीहरूलाई स्वागतका लागि राष्ट्र बैंकको गेटमा उपस्थित हुन आन्तरिक परिपत्र (सर्कुलर) जारी गरेको थियो । तर, सो विषयमा आफूहरूलाई जानकारी नदिई बाइपास गरिएको अन्य संगठनका कर्मचारीहरूले गुनासो गरेका हुन् ।
नेकपा एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघकी पूर्वअध्यक्ष गीता पोख्रेल लम्सालले वित्तीय कर्मचारी संघले सर्कुलर जारी गर्दै आफू निकटका कर्मचारीहरूलाई मात्रै बोलाएर अन्य संगठनलाई बाइपास गरेको गुनासो गरिन् । आधिकारिक रुपमा जानकारी नआएपछि आफ्नो संगठनको कार्यालयमा गएर यस विषयमा छलफल गरेको उनको भनाइ छ ।
‘बिहान गेटमा वित्तीय कर्मचारी संघका साथीहरूले हामी स्वागत गर्छाैं भनेर सर्कुलर जारी गरेर आफू निकटका कर्मचारीलाई मात्रै बोलाउनु भएछ । त्यसैले हामी गेटमा नबस्ने भनेर कार्यालयमै बसिरह्यौँ,’ उनले भनिन्, ‘तर साढे ३ बजेको स्वागत कार्यक्रममा बोलाइएपछि भने आफ्ना कुराहरू राख्यौँ ।’ उनका अनुसार गभर्नर पौडेलसँग भेटका लागि भोलि (बिहीबार) समय लिइएको छ ।
नेकपा माओवादी केन्द्र निकट संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसी सपथ ग्रहण र पद बहालीको सूचना नआएपछि स्वागतका लागि आफूहरू नगएको जानकारी दिए ।
‘कतिबेला सपथ ग्रहण र कतिबेला पद बहाली भन्ने हामीलाई जानकारी थिएन । गभर्नर आउनु भएपछि बेलुका स्वागत कार्यक्रम हुन्छ भन्ने अनुमानसहित हामी तयारी गरिरहेका थियौं । गभर्नरका विषयमा कस्तो किसिमको धारणा राख्ने, कसरी अगाडि बढ्ने भन्ने किसिमले संगठनभित्र छलफल गर्दै थियौं,’ उनले भने, ‘उहाँ आकस्मिक रुपमा आउनु भयो । उहाँ आइसकेपछि मात्रै थाहा भयो कि पद बहाली गरिसक्नु भएछ । त्यतिबेला हामी सबै साथीहरू हाम्रै संगठनको कार्यालयमा बसेर छलफल गरिरहेका थियौं ।’

उनका अनुसार उहाँहरू (वित्तीय कर्मचारी संघ) लाई सपथ ग्रहणदेखि पद बहाली कार्यक्रमका बारेमा जानकारी थियो । त्यसैले उनीहरू शपथग्रहणदेखि कार्यभार सम्हाल्ने सम्म सहभागी भएका थिए । राष्ट्र बैंकको सम्बन्धित विभागले व्यवस्थापन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।
‘यसमा गभर्नरको दोष छैन, किनकी उहाँलाई जानकारी नहुन पनि सक्छ । भित्री व्यवस्थापनले त्यो कुराहरू थाहा पाएर सर्कुलर गर्नुपर्थ्यो। त्यो कमी कमजोरी भएको छ,’ उनले भने, ‘उहाँले सबैलाई सहभागिता गराएर अघि बढ्ने कुरा गर्नु भएको छ । उहाँले जसरी लैजानु हुन्छ त्यस्तै रेस्पोन्स हाम्रो रहन्छ ।’
साढे ३ बजेको शुभकामना तथा बधाई कार्यक्रममा भने आधिकारिक जानकारी आएपछि आफ्नो धारणा राखेको उनले बताए । विगतको आबद्धतालाई बिर्सिएर राष्ट्र बैंकमा न्यायिक निर्णय र समावेशी सहभागिता गराउनुपर्ने उनको भनाइ छ ।
एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे गेटमा स्वागतका लागि उपस्थित हुन आधिकारिक सूचना र समयबारे जानकारी नगराउँदा आफूहरू नगएको बताउँछन् ।
‘कर्मचारी साथीहरू भेला भएर स्वागत गरेका हुन् । गेटमा भेला भएर उपस्थित हुनका लागि आधिकारिक सूचना थिएन । हामीलाई जानकारी नभएपछि गएनौँ । बैंकको सम्बन्धित विभागहरूले कार्यक्रम आयोजना गर्दा सूचना जारी गर्छ । सोही आधारमा हामी जाने हो,’ उनले भने, ‘बिहान गेटमा स्वागत गर्ने सूचना थिएन । साढे ३ बजेको कार्यक्रमको लागि मात्रै सूचना आयो । त्यसैले पद बहाली कार्यक्रममा सहभागी भएनौँ ।’
कांग्रेस निकट कर्मचारीका अध्यक्ष हरिकृष्ण भट्टराई नवनियुक्त गभर्नरका लागि कर्मचारीहरू स्वःस्फूर्त रुपमा गेटमा पुगेर स्वागत गरेको बताउँछन् । गभर्नर सबै कर्मचारीको हुने भएकाले स्वःस्फूर्त रुपमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । सबै इच्छुक कर्मचारीहरूलाई गभर्नरको स्वागतका लागि बिहान साढे १० बजे गेटमा बोलाइएको उनले बताए ।
‘गभर्नर सबै कर्मचारीको हो । आज जतिपनि कर्मचारी उपस्थित भए, उहाँहरू स्वःस्फूर्त रुपमा आएका हुन्,’ उनले भने, ‘पाँच वर्षअगाडि महाप्रसाद अधिकारी गभर्नर भएर आउँदा जुन अवस्था थियो आज पनि त्यही किसिमको वातावरण बनेको मात्रै हो ।’