काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले सस्तो मोडेल डल्फिन सर्फ बुधबार बर्लिनमा सार्वजनिक गरेको छ । बीवाईडीले युरोपमा दशौं मोडेल सार्वजनिक गरेको हो ।
यसले युरोपेली प्रतिस्पर्धीहरूलाई थप किफायती विकल्पहरू ल्याउन दबाब दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो कार तीन फरक मूल्यमा बिक्रीमा आउनेछ- २२ हजार ९९० युरो (लगभग २६ हजार १०० अमेरिकी डलर) मा ३२२ किलोमिटर (२०० माइल) दूरीका लागि र २४ हजार ९९० युरोमा ५०७ किलोमिटर दूरीका लागि ।
बिक्री प्रमुख प्याट्रिक शुल्जका अनुसार जूनको अन्त्यसम्म तीनै संस्करणहरू १९ हजार ९९० युरोदेखि २४ हजार ९९० युरोको छुट मूल्यमा उपलब्ध हुनेछन् ।
यो कारले युरोपेली कार निर्माताहरूलाई अझ सस्तो विद्युतीय विकल्प दिन प्रेरित गरेको छ किनकि उच्च लागत अझै पनि विद्युतीय सवारीको व्यापक अपनत्वमा मुख्य बाधक बनेको छ ।
हाल युरोपमा २० हजार युरोभन्दा कम मूल्यमा बिक्रीमा रहेका थोरै मोडेलहरूमा डासीया स्प्रिङ र लीपमोटरको टीओथ्री मात्र छन् । यद्यपि यो वर्ष २५ हजार युरोभन्दा कम मूल्यमा ११ नयाँ मोडेलहरू बजारमा आउँदैछन्- जसमा फक्सवागन आईडी. टू, रेनल्ट आरफाइभ, फियाट ग्रान्ड पान्डा र हुन्डाई इन्स्टेर समावेश छन् ।
'युरोपमा विद्युतीकरणको अर्को मोर्चा भनेकै कम्प्याक्ट सेग्मेन्ट हो,' बर्लिनमा आयोजित कार्यक्रममा बीवाईडीकी क्षेत्रीय प्रबन्धक मारिया ग्राजिया डाभिनोले भनिन्, 'हामीलाई यो बजारमा अपार सम्भावना देखिन्छ ।'
चिनियाँ संस्करण सीगलले चीनमा बीवाईडीको तीव्र उकालो यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यो २०२४ मा टेस्लाको मोडेल वाईपछि दोस्रो सबैभन्दा धेरै बिक्री भएको ईभी बनेको छ- ४ लाख ४२ हजारभन्दा बढी दर्तासहित ।
बीवाईडीका अनुसार यो मोडेलको विश्वव्यापी बिक्री यस वर्ष अहिलेसम्म ४५ प्रतिशतले बढेर १ लाख ७० हजार पुगेको छ ।
गत वर्ष टेस्लालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बनेको बीवाईडीले डिलर नेटवर्क विस्तार गर्दै, थप हाइब्रिड मोडेलहरू प्रस्तुत गर्दै र स्थानीय अनुभव भएका व्यवस्थापकहरू नियुक्त गर्दै युरोपमा आफ्नो व्यापार रणनीति परिमार्जन गर्दैछ । किनभने अघिल्लो कमजोरीका कारण यस क्षेत्रको बिक्री प्रभावित भएको थियो ।
बिक्री तथ्यांकहरूले देखाउँछ कि यो परिमार्जन सफल हुँदैछ । जर्मनीमा यो वर्षको पहिलो चार महिनामा बिक्री २ हजार ७९१ पुगेको छ, जुन सन् २०२४ को पूरै वर्षको २ हजार ८९१ बिक्रीसँग नजिक हो ।
युरोपभर पनि यस्तो नै सफलता देखिएको छ- पहिलो त्रैमासिकमा बिक्री चौगुना बढेर ३७ हजार २०१ पुगेको छ, जबकि टेस्लाको बिक्री ३७.२ प्रतिशतले घटेको छ।
बीवाईडीले यस वर्ष युरोपका १२ नयाँ बजारमा प्रवेश गर्ने र बिक्री केन्द्रहरू १ हजार नाघ्ने डाभिनोले जानकारी दिइन् ।
ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने
टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !