ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने

काठमाडौं । होन्डा मोटरले मंगलबार विद्युतीय सवारी (ईभी) प्रति घट्दो मागका कारण यस क्षेत्रमा लगानी घटाउँदै गएको र यसको सट्टा हाईब्रिड सवारीहरूमा ध्यान केन्द्रित गर्ने बताएको छ । कम्पनीले पुनः डिजाइन गरिएका मोडेलहरूको श्रृंखला लिएर हाईब्रिड सवारी बजारलाई प्राथमिकता दिने जनाएको छ ।

टोयोटा मोटरपछि जापानको दोस्रो ठूलो अटो निर्माता होन्डाले सन् २०३० को वित्तीय वर्षसम्म आफ्नो कुल बिक्रीको ३० प्रतिशत इलेक्ट्रिक सवारीबाट हुने लक्ष्य पनि हटाएको छ ।

'बजारको प्रवृत्ति बुझ्न निकै गाह्रो भइरहेको छ, तर हालको अनुमान अनुसार सन् २०३० सम्म ईभीको हिस्सा करिब पाँचौं भाग मात्रै हुने देखिन्छ,' होन्डाका सीईओ तोशिहिरो मिबेले पत्रकार सम्मेलनमा भने ।

कम्पनीले सन् २०३० सम्मको विद्युतीकरण र सफ्टवेयर विकासमा हुने लगानीलाई ३० प्रतिशत घटाएर ७ ट्रिलियन येन (४८.४ अर्ब अमेरिकी डलर)मा झारेको छ ।

संसारभरका केही ठूला अटो ब्रान्डहरूले पनि ईभीमा लगानी घटाउँदै गएका छन्, किनभने उपभोक्ताहरू हाईब्रिड सवारीतर्फ फर्कंदै छन् र विश्वका विभिन्न सरकारहरूले उत्सर्जन मापदण्ड तथा ईभी बिक्री लक्ष्य पुरा गर्न समयसीमा लचिलो बनाइरहेका छन् ।

उदाहरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनद्वारा ल्याइएको त्यस्तो कार्यकारी आदेश खारेज गरेका छन् जसले सन् २०३० सम्म अमेरिका भित्र विक्री हुने सबै नयाँ सवारीहरू विद्युतीय बनाउने लक्ष्य राखेको थियो ।

होन्डाले सन् २०२७ देखि चार वर्षको अवधिमा १३ वटा नयाँ पुस्ताका हाईब्रिड मोडेलहरू विश्वभरि ल्याउने योजना बनाएको छ । हाल होन्डाका एक दर्जनभन्दा बढी हाईब्रिड मोडेलहरू विश्वभरि विक्री भइरहेका छन्, तर अमेरिका भित्र भने सिभिक (ह्याचब्याक र सेडान), एकोर्ड र सीआर–भी गरी केवल तीन मोडेल मात्रै उपलब्ध छन् ।

कम्पनीले दशकको उत्तरार्धतिर ल्याउने ठूला सवारी मोडेलहरूका लागि पनि नयाँ हाईब्रिड प्रणाली विकास गर्ने योजना बनाएको छ ।

होन्डाले सन् २०३० सम्म २२ देखि २३ लाख हाईब्रिड सवारी विक्री गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो वर्षका ८ लाख ६८ हजार सवारीको तुलनामा ठूलो छलाङ हो । कम्पनीले अघिल्लो वर्ष कुल ३८ लाख सवारी विक्री गरेको थियो ।

यो महिनाको सुरुमा होन्डाले क्यानडाको ओन्टारियोमा ईभी उत्पादन आधार स्थापना गर्नका लागि तय गरिएको १५ अर्ब क्यानडियन डलर (१०.७ अर्ब अमेरिकी डलर) को योजना करिब दुई वर्षका लागि होल्डमा राखेको घोषणा गरेको थियो । कारण- इलेक्ट्रिक सवारीप्रति घट्दो माग ।

यद्यपि होन्डाले सन् २०४० सम्ममा नयाँ सवारीहरूको सम्पूर्ण विक्री विद्युतीय (ब्याट्रीचालित र फ्यूल सेल) बनाउने लक्ष्य भने कायम राखेको बताएको छ ।

अन्य अटो निर्माताहरूले पनि ईभी लगानीमा कटौती गरेका छन् । तीमध्ये एक हो, होन्डाको प्रतिस्पर्धी निसान, जसले हालै घोषणा गरेको जापानको क्युशु टापुमा १।१ अर्ब डलर बराबरको ब्याट्री कारखाना बनाउने योजना केही महिनामै रद्द गरेको छ ।

टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
 

Share News