काठमाडौं । चीनको प्रमुख इनोभेटिभ अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा वृद्धिको घोषणा गरेको छ । कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको बताएको छ ।
सेरेसको बिक्री आम्दानी (रेभेन्यू) पनि यो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ । यसको मुख्य श्रेय उच्च मागमा रहेका नवीन र ऊर्जा–कुशल सवारीसाधनहरूलाई दिइएको छ । नवप्रवर्तन, दिगोपन र ग्राहककेन्द्रित डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्याइरहेको बताइएको छ ।
मुनाफा विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउँछ । कम्पनीले भविष्यमा अझ लामो रेन्ज, उत्कृष्ट पर्फर्मेन्स र स्मार्ट फिचरसहित नयाँ मोडेलहरू ल्याउने तयारी गरिरहेको जनाएको छ ।
सेरेस ग्रुपले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरिसकेको छ । यसले चीनबाहिर पनि सेरेसको विद्युतीय सवारी क्षेत्रमा अग्रणी उपस्थितिलाई पुष्टि गर्दछ ।
त्यस्तै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जित्दै आफ्नो नवप्रवर्तन क्षमता र उत्कृष्टता पुनः प्रमाणित गरेको छ । लक्जरी सवारी क्षेत्रमा समेत बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै सेरेसले उचाइ बनाइरहेको छ ।
सेरेसले अबको दिनमा पनि ईभी उद्योगमा अग्रगामी र भविष्यमुखी रणनीति लिएर विश्व बजारमा आफ्नो प्रभाव झनै विस्तार गर्ने लक्ष्य लिएको छ ।