काठमाडौं । टेस्लाले अष्टिन, टेक्सासमा रोबोट्याक्सी सेवाको परीक्षण जुन महिनाको अन्त्यसम्ममा समयमै सुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले मंगलबार उक्त जानकारी दिएका हुन् । यद्यपि कम्पनी अमेरिकी नियामकको तर्फबाट उठाइएका सुरक्षासम्बन्धी प्रश्नहरूको सामना गरिरहेको छ ।
मस्कले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने अनुसार टेस्लाले सुरुमा सहरका केही भागहरूमा करिब १० वटा स्वचालित सवारीहरू सञ्चालनमा ल्याउनेछ र केही महिनाभित्र त्यसलाई विस्तार गर्दै करिब १ हजार पुर्याउने योजना बनाएको छ ।
'हामी खासमा पूरै अष्टिन क्षेत्रमा होइन, केवल सबैभन्दा सुरक्षित भागहरूमा मात्र रोबोट्याक्सी तैनाथ गर्दैछौं,' मस्कले भने ।
टेस्लाको बिक्री विश्वभर घटिरहेको छ, किनभने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र मस्कको दक्षिणपन्थी राजनीतिक दृष्टिकोणका कारण उनी आलोचित भइरहेका छन् ।
मस्कले भनेका छन् कि उनले ट्रम्पको लागि गर्ने काम घटाउने र टेस्लामा ध्यान केन्द्रित गर्नेछन् । 'ह्वाइट हाउसमा मेरो मोटामोटी योजना हरेक केही हप्तामा केही दिनको लागि त्यहाँ हुने र जहाँ सहयोग गर्न सकिन्छ, त्यहाँ सहयोग गर्ने हो,' उनले भने ।
टेस्लाका लागि सफल रोबोट्याक्सी परीक्षण अत्यन्तै महत्वपूर्ण छ किनभने मस्कले कम्पनीको ध्यान सस्तो विद्युतीय सवारी निर्माणबाट हटाएर रोबोट्याक्सी सेवा र यसको अप्टिमस ह्युमनाइड रोबोटहरूमा केन्द्रित गराएका छन् । टेस्लाको बजार मूल्यको ठूलो हिस्सा यही आशामा आधारित छ ।
'दीर्घकालीन रूपमा वास्तवमा महत्त्वपूर्ण कुराहरू भनेका स्वचालित प्रणाली (अटोनोमी) र अप्टिमस हुन्,' मस्कले सीएनबीसीलाई बताए ।
स्वचालित सवारी प्रविधि व्यवसायिक रूपमा प्रयोगमा ल्याउन कठिन साबित भएको छ, कडा नियम तथा ठूलो लगानीका कारण धेरै कम्पनीहरूले हार मानिसकेका छन् । अझै दौडमा रहेका कम्पनीहरू, जस्तै अल्फाबेटको वेमो पनि बढ्दो निगरानीमा परेका छन् ।
अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले गत अक्टोबरदेखि कम दृश्यता भएका अवस्थामा टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ (एफएसडी) प्रविधि संलग्न दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ । सो नियामकले गत हप्ता टेस्लालाई यसको भुक्तानयोग्य रोबोट्याक्सी सेवा सुरु गर्दा ती सवारीहरू खराब मौसममा कसरी प्रदर्शन गर्नेछन् भन्नेबारे जानकारी मागेको थियो ।
मस्कका अनुसार टेस्ला अन्य ठूला अटो कम्पनीहरूसँग आफ्नो एफएसडी सफ्टवेयर लाइसेन्स गर्नका लागि कुराकानीमा छ, जुन यसको रोबोट्याक्सीहरूको मुख्य आधार बन्नेछ ।
आफ्नो व्यापक कृत्रिम बौद्धिकता (एआई) योजनालाई अगाडि बढाउन मस्कको एक्सएआई स्टार्टअपले थप उन्नत मोडेल प्रशिक्षणका लागि डेटा केन्द्र क्षमतामा विस्तार गरिरहेको छ र टेनेसीको मेम्फिसमा रहेको यसको सुपरकम्प्युटर कोलोस्ससलाई संसारकै ठूलो भनिएको छ ।
एक्सएआईले मेम्फिस नजिकै नयाँ केन्द्रमा एनभीडीयाका एक मिलियन अत्याधुनिक ब्ल्याकवेल चिपहरू प्रयोग गर्ने मस्कले बताए । एक्सएआईले टेनेसीको दक्षिणपश्चिम मेम्फिसमा १० लाख वर्गफुट क्षेत्रफलको सम्पत्ति किनेको ग्रेटर मेम्फिस चेम्बरले मार्चमा जनाएको थियो ।
मस्कले मार्चमा एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग गाभेका थिए । उनले टेस्ला र एक्सएआईबीच गाभ्ने योजना हालका लागि नभए पनि त्यसलाई असम्भव भने नभएको बताए ।