यूए ह्याकाथनमार्फत पहिलो नेपाली डोमेन वेबसाइट सार्वजनिक

काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यानसंगठन’ सार्वजनिक गर्दै युए ह्याकाथन नेपाल २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र इन्टरनेट डोमेन नियामक संस्था आईक्यानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा इन्टरनेट पहुँच र भाषिक समावेशितातर्फ ऐतिहासिक पाइला चालेको घोषणा गरिएको हो ।

कार्यक्रममा सार्वजनिक गरिएको नेपाली भाषाको डोमेनसहितको वेबसाइट ‘क्यान।संगठन’ लाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक सुरुवातको रूपमा लिइएको छ । यसले सरकारी तथा सार्वजनिक सेवाहरूमा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ ।


युनिभर्सल एक्सेप्टेन्स ९यूए० को अवधारणा अनुसार, इन्टरनेट प्रणालीले स्थानीय भाषामा लेखिएका डोमेन र इमेल ठेगाना स्वीकार गर्न सक्नुपर्छ। यस्तो प्रणालीलाई ‘यूए रेडी’ भनिन्छ । यस प्रविधि अपनाउनुले इन्टरनेट पहुँचबाट टाढा रहेका नेपाली भाषाभाषीलाई डिजिटल सेवामा जोड्न मद्दत गर्नेछ ।

कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली भाषाको डोमेन प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षणमा योगदान पुर्याउने भन्दै यो कदम डिजिटल नेपाल निर्माणतर्फ सशक्त कदम भएको बताइन् । उनले एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने प्रक्रियामा रहेको जानकारी पनि दिइन् ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले नेपालीमा दक्ष नभएका करिब ७० प्रतिशत नागरिक अझै इन्टरनेट पहुँचबाट टाढा रहेको भन्दै, नेपाली भाषामा डोमेन र इमेल ठेगाना पहुँचयोग्य हुँदा व्यापक प्रभाव पर्ने बताए ।

युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युए अवधारणालाई युनेस्कोको बहुभाषिकता सिफारिससँग मेल खाने विषय बताउँदै नेपालमा यसको कार्यान्वयनमा सहकार्य गर्न तयार रहेको जनाए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले नेपाली कम्प्युटिङ इतिहासमा यो अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै नेपाली भाषा स्ट्यान्डर्ड र स्पेल चेकर विकासपछि आएको नयाँ माइलस्टोन भएको बताइन् ।

कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्रमा नीति निर्माता, सरोकारवाला र प्रविधि क्षेत्रका १०० जना भौतिक सहभागी थिए भने करिब ५० जना जुममार्फत अनलाइन सहभागी भए। दोस्रो सत्रमा आयोजित युए ह्याकाथनमा ४० जना युवाहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र यूए रेडी प्रणालीको अभ्यास गरे ।

ह्याकाथन टिम लिड बिबेक सिलवालका अनुसार, 'वेबसाइटको सामग्री मात्र होइन, त्यसमा पहुँचका साधनहरू-जस्तै डोमेन र कीवर्ड पनि नेपाली भाषामै सम्भव छन् भन्ने सन्देश दिनु हाम्रा लागि मुख्य उद्देश्य थियो ।'

कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक कम्युनिकेसन्स, माभोरियन सिस्टम्स, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्यमा सम्पन्न भएको हो । आयोजक संस्थाका अनुसार यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको दीर्घकालीन सम्भावनामा समेत सकारात्मक प्रभाव पार्नेछ ।

क्यान महासंघका कार्यक्रम समन्वयक उदिप बरालले भने, 'हामीले कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भयौँ, र यस्ता प्रयासले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने सम्भावना थप बलियो बनाएको छ ।'

Share News