बैजनाथमा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषिमा अनुदानदेखि खानेपानीसम्मका समस्या उठान

काठमाडौं । बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा तथा बास नेपाल संस्था सहजीकरणमा आयोजित सुनुवाइमा सेवा प्रवाह, विकास निर्माण, कृषि अनुदानलगायतका विषयमा छलफल गरिँदै छ वटामा साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले कृषकलाई दिइने मकैको बीउ गुणस्तरहीन भएको, अधिकांश टोलमा खानेपानीको अभाव रहेको, नाउ र दुधान टोलमा सडक तथा नालीको समस्या रहेको, स्वास्थ्यचौकीको गेटमा डिजिटल बोर्ड नहुँदा राति सेवा लिन कठिनाइ हुने, र लक्षित वर्गका लागि तालिमजस्ता कार्यक्रम वडाबाट सञ्चालन नभएको गुनासा गरेका थिए ।

स्थानीय गुनासापछि वडा कार्यालयले कृषि शाखासँग समन्वय गरेर बीउसम्बन्धी समस्या समाधान गर्ने, मेलमिलाप समितिको बैठक बस्न कार्यकक्षको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधानका लागि पालिकासँग समन्वय गर्ने, र डिजिटल बोर्ड राख्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष भगन थारुले गुनासाको जवाफ दिँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । कार्यपालिका सदस्य कृष्णकुमारी सुनार, वडा सदस्यहरू सुकबहादुर रावत, धिरेन्द्रसिंह ठकुरी, विमला सिंह थारु, वडा सचिव डम्बरबहादुर खत्री, र स्वास्थ्यचौकी इञ्चार्ज विरेन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।

२ घण्टा लामो सुनुवाइमा एक सयभन्दा बढी स्थानीयको सहभागिता थियो । कार्यक्रममा बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सचिव खत्रीले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

Share News