काठमाडौंको गल्ती दोहोर्‍याउन हुन्न : चिरीबाबु महर्जन

ललितपुर । सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको बित्थडचिर गाउँ‌पालिकाका जनप्रतिनिधि ललितपुर महानगरको असल अभ्यास बारे छलफल गर्न आएका छन् । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा १८ जनाको टोली महानगर आएको हो ।

उनीहरुलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य  बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरेका थिए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक, ऐलानी र पर्ति जग्गाको संरक्षण गर्न विशेष जोड दिएका छन् । उनले 'काठमाडौं उपत्यकाले गरेको गल्ती नदोहोर्यानुस्' भन्दै सुदूरपश्चिमबाट अध्ययन भ्रमणमा आएका जनप्रतिनिधिहरूलाई सचेत गराएका हुन् ।

महर्जनले ललितपुर महानगरले अघि सारेका असल अभ्यासहरूलाई मूल्यांकन गर्दै महानगरमा सिक्नका लागि आएको टोलीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले न्यायिक समितिमा आएका मुद्दाहरू तीन महिनाभित्रै छिनोफानो गरिने बताउँदै, वडा तहमा कानुनी सचेतना र मेलमिलापकर्ताको व्यवस्था गरिएको जानकारी दिइन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई ललितपुरको सफलता पछाडिको मुख्य कारण बताउँदै, महानगरमा भएका अनुकरणीय अभ्यासहरू साझा गर्न पाउँदा खुशी व्यक्त गरिन् ।

भ्रमणमा आएका बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनालक्ष्मी सिंह मल्ल र प्रवक्ता हरिशचन्द्र जोशीले ललितपुर महानगरसँगका अनुभवहरूबाट आफ्ना नीतिगत र कार्यान्वयनका पक्ष सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Share News