नाफामा सेरेस ग्रुप, गिगाफ्याक्ट्री स्वामित्वका लागि स्टक एक्सचेन्जको स्वीकृति

काठमाडौं । हुवावे टेक्नोलोजिजसँग सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको चिनियाँ कम्पनी सेरेस ग्रुप सन् २०२४ मा पुनः नाफामा फर्किएको छ । उत्कृष्ट सवारी बिक्रीसँगै कम्पनीले रणनीतिक गिगाफ्याक्ट्री अधिग्रहणका लागि स्टक एक्सचेन्जबाट स्वीकृति प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (अन्दाजी ७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) बराबरको नाफा आर्जन हुने अनुमान गरेको छ । अघिल्लो वर्षको २.४५ अर्ब युआन घाटासँग तुलना गर्दा यो महत्वपूर्ण वित्तीय सुधार हो ।

सेरेसले यो सफलता हुवावे सँगको सहकार्यमा निर्माण गरिएको सेरेस आइटो ब्रान्डका न्यू इनर्जी भेहिकलको तीव्र बिक्री वृद्धिलाई श्रेय दिएको छ । कम्पनीका अनुसार सन् २०२४ मा सवारी बिक्री ९७ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार युनिटमा पुगेको छ । यसमध्ये न्यू इनर्जी भेहिकलको बिक्री तीनगुणा वृद्धि भई ४ लाख २६ हजार ९०० युनिट पुगेको हो ।

साथै, लंगशेंग न्यू इनर्जी टेक्नोलोजी को अधिग्रहणका लागि ८.१७ अर्ब युआन (१.१२ बिलियन अमेरिकी डलर) बराबरको सेयर बिक्री योजनालाई शांघाई स्टक एक्सचेन्ज ले स्वीकृति दिइसकेको कम्पनीले जनाएको छ । उक्त कम्पनीको प्रमुख सम्पत्ति हो । गिगाफ्याक्ट्री, जसमा हाल सेरेसले आइटो सिरीजका सवारी उत्पादन गर्दै आएको छ । उक्त कारखाना अत्याधुनिक प्रविधियुक्त पूर्ण स्वचालित प्रणालीमा आधारित छ, जसमा ३ हजार भन्दा बढी रोबोटहरू समन्वयमा कार्यरत छन् ।

गिगाफ्याक्ट्रीको स्वामित्व सेरेसले प्राप्त गरेपछि कम्पनीको उत्पादन प्रक्रियामा स्थायित्व, गुणस्तर नियन्त्रण र प्राविधिक स्वायत्तता उल्लेखनीय रूपमा वृद्धि हुने बताइएको छ । अन्तिम स्वीकृति भने हाल चीनको सेक्युरिटिज रेगुलेटरी कमिसनबाट आउन बाँकी छ ।

यसबीच, सेरेस ग्रुपको सेयर मूल्य ५.१ प्रतिशतले घटे पनि पछिल्ला १२ महिनामा समग्र रूपमा झन्डै १७ प्रतिशतले वृद्धि भएको उल्लेखनीय तथ्य रहेको बताएको छ ।

Share News