मखन आगलागी प्रकरण : छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मखनमा वैशाख ३१ गते बिहान भएको आगलागी समयमा नियन्त्रणमा लिन नसकिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै उपप्रमुख सुनिता डंगोलले छानबिन समिति गठन गर्न निर्देशन दिएकी छन् ।

तीन वटा घरमा क्षति पुर्याएको उक्त आगलागीबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिँदै उपप्रमुख डंगोलले भनिन्, 'दमकल स्टेशन नजिकैको स्थानमा आगो नियन्त्रणमा लिन किन ढिला भयोरु दमकल समयमै किन पुग्न सकेन ? के पूर्वाधार समस्या हो कि मानवीय लापरवाही ?'

उक्त दिन बिहान ६:५० बजे दयाराम श्रेष्ठको घरमा सुरु भएको आगलागी फैलिँदै रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठका घरमा समेत क्षति पुगेको थियो । आगलागीबाट धुवाँमा निस्सासिएर एक वृद्धाको ज्यानसमेत गएको थियो ।

उपप्रमुख डंगोलले वडाध्यक्ष विनोद कुमार राजभण्डारीसँगै घटनास्थलको निरीक्षण गरेपछि छानबिन आवश्यक रहेको निष्कर्षमा पुग्दै भनिन्, 'भौतिक मात्र होइन, मानवीय क्षति भएको छ । यस्ता घटनामा कसको कमजोरी भयोरु त्यसको जिम्मेवारी कसले लिन्छ ? सबै स्पष्ट हुनुपर्छ ।'

उनले आगलागी नियन्त्रणमा ढिलाइ हुनुका पछाडि दमकलमा पानी नभएको, बाटोमा निर्माण सामग्रीले अवरोध गरेको, पूर्वतयारीको अभाव रहेको भन्ने गुनासो आएको जानकारी दिइन् ।

'त्यस दिनको गल्ती दोहोरिन नदिन हामीले छानबिन समिति बनाउँदै छौँ,' उपप्रमुख डंगोलले भनिन्, 'आगामी दिनमा यस्ता घटनामा तयारी, प्रतिक्रिया र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे स्पष्ट सिफारिस पनि आवश्यक छ ।'

समितिले दमकल, एम्बुलेन्स सेवा, स्थानीयवासी, जनप्रतिनिधि लगायतसँग छलफल गर्दै पूर्वतयारी, तत्कालीन प्रतिक्रिया, उद्धार र राहत व्यवस्थापनका विषयमा प्रतिवेदन पेश गर्नेछ ।

Share News