काठमाडौं । नेपाल राष्ट्र बैंकले गत फागुन १३ गते चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै २०८२ जेठदेखि आधार दरमा आबद्ध गरी लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गर्याे । मौद्रिक नीतिको समीक्षामै घोषणा गरेपछि आज जेठ १ गतेदेखि लघुवित्त संस्थाहरूले आधार दरसँग आबद्ध गरी ब्याजदर निर्धारण गरेर कर्जा प्रवाह गर्नुपर्ने हो ।
तर, राष्ट्र बैंकले परिपत्र जारी नगर्दा लघुवित्त संस्थाहरूले आधार दरमा आवद्ध भएर कर्जा प्रवाह गर्न सकेनन् । जेठ १ गतेदेखि लघुवित्त संस्थाहरूले आधार दरमा कर्जा प्रवाह गर्नुपर्ने भएपनि पुरानै व्यवस्था अनुसार ब्याजदर निर्धारण गरेर कर्जा लगानी सुरु गरेका छन् । हाल लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गर्दा १५ प्रतिशतको सीमा (क्याप) तोकेको छ । १५ प्रतिशत नबढ्ने गरी लघुवित्त संस्थाहरूले कर्जा लगानी गर्दै आएका छन् ।
हिमालयन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद आचार्य यसअघि मौद्रिक नीतिको समीक्षामार्फत भएको नीतिगत व्यवस्थाको परिपत्र नआएपछि पुरानै व्यवस्थामा आफूहरू अगाडि बढेको बताउँछन् । उनी परिपत्रबिना आधा दर लागू गर्न नसकिने बताउँछन् । लघुवित्त संस्थाहरू आधार दरमा आधारित भएर कर्जा दिन तयार रहेको उनको भनाइ छ ।
‘सर्कुलर नआएसम्म के, कसरी निर्धारण गर्ने भन्ने थाहा हुँदैन । जेठदेखि लागू गर्ने भनेको छ । तर, गते तोकेको छैन । जेठदेखि भनेको हुँदा जेठ महिनाभरिमा सर्कुलर आउन सक्छ,’ उनले भने, ‘यो बीचमा राष्ट्र बैंकले के, कसरी लागू गर्ने भनेर लघुवित्तका सीईओहरूसँग नियमित छलफल गरेको हो । अब छिट्टै आउला ।’
सर्कुलर जारी गर्न किन ढिलाइ भएको हो भन्ने चासो राख्दै नेपाल लघुवित्त बैंकर्स संघका केही पदाधिकारी मंगलबार राष्ट्र बैंक पुगेका थिए । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, संघका पूर्वअध्यक्ष बसन्त लम्साल, फर्स्टमाइक्रो फाइनान्सका सीईओ नुमनाथ पौडेल लगायत व्यक्तिहरू राष्ट्र बैंक पुगेर आधार दर लागू गर्न किन ढिलाई भएको हो भनेर जिज्ञासा राखेका थिए ।
गभर्नर नियुक्तिमा ढिलाइ हुँदा नयाँ व्यवस्था लागू गर्न ढिलाइ भएको प्रतिक्रिया राष्ट्र बैंकका अधिकारीहरूले दिएका छन् । साथै डेपुटी गभर्नर बम बहादुर मिश्र पनि बाहिर रहेकाले ढिला हुन गएको भन्ने जवाफ पाएको एक सीईओले बताए ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल प्राविधिक कारणले लघुवित्त संस्थामा आधार दर लागू गर्न ढिलाइ भएको बताउँछन् । तर, आधार दर लागू हुने विधि के कस्तो हुने भन्ने विषय निर्णय भएपछि मात्रै थाहा हुने उनको भनाइ छ ।
‘मौद्रिक नीतिको समीक्षामा लघुवित्तको आधार दर लागू गर्ने भनिएको हो । आजदेखि लागू हुनुपर्ने हो । तर, प्राविधिक कारणहरू छन् । आधार दर लागू हुन्छ नै । लघुवित्तको कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथि जान दिँदैनौँ । जेठको पहिलो साताभित्र लागू गर्ने गरी आउँछ,’ उनले भने ।
वाणिज्य बैंकले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम लिएर लघुवित्त संस्थाहरूलाई कर्जा लगानी गरिरहेका छन् । त्यसैले वाणिज्य बैंकको आधार दरले लघुवित्तको आधार दरलाई दिशा निर्देश गरिरहेको हुन्छ । तर, लघुवित्त संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन् ।
‘कसैले मेरो आधार दर धेरै भयो भनेर १५ प्रतिशतभन्दा माथि जान पाउँदैन । सर्कुलर नआउँदासम्म आधार दर लागू हुँदैन । अब हामी चाँडै सर्कुलर जारी गर्छाैं । सर्कुलर आइसकेपछि मात्रै आधार दर कसरी लागू गर्ने भन्ने स्पष्ट हुनेछ,’ उनले भने, ‘१५ प्रतिशतभन्दा माथि नबढ्ने गरी कर्जाको ब्याजदर निर्धारण गरिनेछ । त्योभन्दा बढ्न दियो भने बजारले हामीलाई गाली गर्छन् ।
लघुवित्तमा कर्जाको ब्याजदर बैंकले निर्धारण गर्ने, सर्वसाधारणलाई महँगो पर्ने