काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरको २.४७ प्रतिशत बेरुजु देखिएको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा काठमाडौं महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण हुँदा जम्मा ६८ करोड २ लाख बेरुजु रहेको छ ।
यस्तै, पोखरा महानगरको ५० करोड ४३ लाख रूपैयाँ बेरुजु देखिएकोमा छ भने यस महानगरमा १३ अर्ब ४६ करोड ७२ लाखको लेखा परीक्षण गरिएको थियो ।
वीरगञ्जमा २२ करोड ७५ लाख बेरुजु देखिएको छ भने अन्य तीन महानगरको १ प्रतिशतभन्दा कम बेरुजु रहेको छ ।
भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रूपैयाँ छ । ललितपुरको बेरुजु ५ करोड ५५ लाख देखिएको छ ।
यस्तै, प्रतिशत र रकम दुवैका हिसाबले सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ । यस महानगरमा २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन ०।३२ प्रतिशत हो ।
यस महानगरको आर्थिक वर्ष २०८०र८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।