करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

काठमाडौं । सरकारले उच्च मूल्यमा खरिद गरेर वितरण गरेका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । 

कतिपय स्वास्थ्य संस्थामा सामग्री बिग्रएकाले प्रयोगविहीन छन् भने कतिपय संस्थामा उपकरण प्रयोगमा नै नल्याएको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयका अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण प्रयोगवहिनी अवस्थामा रहेका छन् । 

जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आफैले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण छन् । 

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर पनि प्रयोग विहीन रहेको पाइएको छ भने सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रलाइजर मेसिन १ थान लगायतका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन् । 

बिग्रिएका उपकरण

करिब १३ करोड बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेकोमा कराेडौं मूल्य बराबरका उपकरण भने बिग्रेर थन्केका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड- १९ प्रयोजनको लागि स्थापना गरिएको एक सय बेडको अस्पतालमा रहेका २४ करोड ५१ लाख ५२ हजारको उपकरण बिग्रेको अवस्था छ । 

जसमा डेङ्गु उपचारको लागि प्रयोगमा ल्याएको भेण्टिलेटर सहितको २० बेड आईसीयू र सो अस्पतालमा प्रयोग भएका उपकरणहरू रहेका छन् । 

यस्तै ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा उपयोग हुने अमेरिकी डलर ५० हजार ५सय को क्याथल्याब मेसिन पनि बिग्रेर थन्क्याइएको छ भने २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सीआर्म, मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकमान काउल्टर बिग्रिएको कारण सञ्चालनमा नरहेको पाइएको छ । 

महालेखा परिकक्षकको कार्यालयले विभिन्न स्वास्थ्य संस्थामा प्रयोग विहीन र बिग्रेर थन्क्याइएका सामग्री स्वास्थ्य मन्त्रालयले अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

Share News