विश्वविद्यालयका अतिक्रमित जग्गा अझै फिर्ता भएनन् : महालेखापरीक्षक

काठमाडौं । नेपालका विभिन्न विश्वविद्यालयमा हडपिएका जग्गा अझै फिर्ता हुन नसकेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयदेखि अन्य विश्वविद्यालयको जग्गा हडपेको खबर पटक पटक बाहिर आउँदा समेत फिर्ता हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । 

नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको जग्गा पनि अहिलेसम्म फिर्ता हुन सकेको छैन ।
 
विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको १ सय १३ रोपनी एक निजी आवासीय विद्यालयले  १५ वर्षको लागि प्रयोग  गरिएकोमा म्याद समाप्त हुँदा समेत खाली हुन सकेको भन्दै तत्काल फिर्ता ल्याउन भनेको छ । 

यस्तै, बागमती नदी किनाराको १५ रोपनी जग्गा १ संस्थाले भोगचलन गरिरहेको र १३ रोपनी जग्गा विभिन्न मितिमा २ संस्थाले प्रयोग गरेकोमा विश्वविद्यालयले कुनै आम्दानी प्राप्त गर्न सकेको छैन । 

त्रिवि र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख ३७ हजार वर्गमिटर, भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर र अन्य ६ लाख ५३ हजार वर्ग मिटर समेत १ करोड ४७ लाख ८९ हजार वर्गमिटर (१ हजार ४७९ हेक्टर) जग्गा रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको एक क्याम्पसको नाममा रहेको तीन सय ८० बिघा जग्गामध्ये ३ सय बिघा जग्गा अतिक्रमण भएको छ । अतिक्रमित जग्गा अहिले सम्म पनि फिर्ता ल्याउन नसकेको भन्दै प्रतिवेदनले प्रश्न उठाएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय र आङ्गिक विद्यापीठको स्वामित्वमा रहेको जग्गामा पनि विवाद देखिएको छ । तराईमा १ हजार ७ सय १८ बिघा १८ कट्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेकोमा ४ सय ८ बिघामा मोही कायम भएको र १२ बिघामा स्वामित्व विवाद रहेको छ । 

दाङको देउखुरीमा रहेको १ हजार ३ सय ३६ बिघा तथा बेलझुण्डी क्षेत्रमा रहेको ३ सय २६ बिघामध्ये ३५ बिघासमेत १ हजार ३ सय ७१ बिघा जग्गा २०५८ सालदेखि अतिक्रमणमा परेको छ । 

प्रतिवेदनले विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्न आग्रह गरेको छ ।

Share News