काठमाडौं । टेस्लाको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको तलबसम्बन्धी विषयको समीक्षा गर्न विशेष समिति गठन गरेको छ । समितिले नयाँ स्टक विकल्प प्याकेजको सिफारिस गर्न सक्ने सम्भावना रहेको फाइनान्सियल टाइम्सले बुधबार रिपोर्ट गरेको छ ।
दुई सदस्यीय उक्त समितिमा टेस्ला बोर्ड अध्यक्ष रोबिन डेनहोम र स्वतन्त्र बोर्ड सदस्य क्याथलीन विल्सन–थम्पसन रहेका छन्, पत्रिकाले स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ ।
यससम्बन्धमा बुझ्न खोज्दा टेस्ला, रोबिन डेनहोम र क्याथलीन विल्सन- थम्पसनले प्रतिक्रिया दिएका छैनन् ।
एफटीका अनुसार यदि टेस्लाको २०१८ को तलब प्याकेज पुनः लागू गर्न अदालतबाट अपील सफल भएन भने उक्त समितिले मस्कलाई अघिल्लो कामको लागि वैकल्पिक क्षतिपूर्ति दिने उपायहरू पनि विचार गर्नेछ । कुनै पनि नयाँ स्टक विकल्प प्याकेज कम्पनीको वित्तीय, सञ्चालन र सेयर मूल्य लक्ष्यहरू पुरा भएमा मात्र उपलब्ध हुनेछन् ।
मस्क कम्पनीका १३ प्रतिशत सेयरको मालिक हुन् । उनले पहिले प्रतिज्ञा गरेको किफायती इलेक्ट्रिक गाडी (ईभी) प्लेटफर्मभन्दा रोबोट्याक्सी र ह्युमोनाइड रोबोटहरूमा ध्यान केन्द्रित गर्न थालेका छन्, जसले कम्पनीलाई परम्परागत कार निर्माता होइन, कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स कम्पनीको रूपमा पुनः परिभाषित गर्दैछ ।
गत महिना टेस्लाले केही तलबसम्बन्धी मामिलाहरूको समीक्षा गर्न विशेष समिति गठन गरिएको जनाएको थियो, तर विस्तृत विवरण भने खुलाएको थिएन ।
मार्च महिनामा मस्कले टेस्लाबाट प्राप्त हुने ५६ अर्ब डलरको तलब पुनःस्थापना गर्न अदालतमा अपील सुरु गरेका थिए, जसमा तल्लो अदालतको न्यायाधीशले कानुनी त्रुटि गरेको दाबी गरेका थिए ।
यस महिनाको सुरुमा डेनहोमले वाल स्ट्रीट जर्नलको त्यो रिपोर्टलाई अस्वीकार गरेकी थिइन्, जसमा भनिएको थियो कि बोर्डका सदस्यहरूले मस्कको विकल्प खोज्न कार्यकारी खोज फर्महरूसँग सम्पर्क गरिरहेका छन् ।
बेलायती कारहरूलाई छुट दिँदा अमेरिकी अटो निर्माता आक्रोशित
टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि