विद्यार्थी मानसिक समस्यामा पर्न थालेपछी कोरियाका लागि एनओसी दिन रोक्का

काठमाडौं । शिक्षा मन्त्रालयले तत्कालका लागि दक्षिण कोरिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । अध्ययनका लागि गएकाहरूको प्राथामिकता पढाइ भन्दा बढी रोजगार पर्दा समस्या सिर्जना गरेको भन्दै तत्कालका लागि एनओसी रोकेको मन्त्रालयले जनाएको छ ।

विद्यार्थीले पढाइ भन्दा पैसा कमाउने उद्देश्य राख्दा अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्ने समस्या भइ मानसिक समस्यामा असर परेको पाइएपछि यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले विज्ञप्ति निकाले जानकारी गराएको छ । नेपालका कतिपय कन्सलटेन्सीले कोरिया सरकारले ब्लक लिस्टमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी गएको पाइएको छ ।

यस्ता यावत कारण विद्यार्थी समस्यामा परेको गुनासो आएपछि सरकारले अध्ययन गर्न वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोकेको हो । मन्त्रालयले यो विषयमा अध्ययन गर्न एक कार्यदल समेत गठन गरेको छ । मन्त्रालयका उच्च महाशाखा प्रमुख एंव सूचना अधिकारी बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरिएको कार्यदलले यो विषयमा अध्ययन गर्ने छ । 

दुई महिनामा अध्ययन गरी प्रतिवेदन सार्वजनिक भएपछि एनओसी बन्द गर्ने कि दिने भन्ने विषयमा थाह हुने छ । मन्त्रालयका अनुसार हाला कोरियामा कक्षा १२ पास गरी डी टु र डी फोर भिषामा विद्यार्थीहरू गइरहेका छन् । 

Share News