चितवन । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ विद्युतीय गाडी ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ । कम्पनीले वैशाख २९ गते भरतपुरस्थित आधिकारिक डिलर 'धनकल ट्रेडिङ' मा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत क्रेटा इभी सार्वजनिक गरेको हो ।
कार्यक्रमको प्रमुख आकर्षणस्वरूप कम्पनीले पाँचवटा क्रेटा इभी गाडी ग्राहकलाई कार्यक्रम स्थलबाटै हस्तान्तरण गरेको थियो । कार्यक्रममा हुन्डाईका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी तथा सहयोग प्रदान गरेका थिए ।
कम्पनीका अनुसार पेट्रोल मोडलमा लोकप्रिय भइसकेको क्रेटा अहिले विद्युतीय संस्करण ‘क्रेटा इभी’मा समेत उपलब्ध भएसँगै ग्राहकहरूका विद्युतीय सवारीसाधनसम्बन्धी शंका समाधान गर्न थप सहज हुने विश्वास लिइएको छ ।
हुन्डाई नेपालले इभी सेवा सञ्जाल विस्तारको लागि हालसम्म देशभर ६६ स्थानमा री लेक्स नेटवर्कअन्तर्गत एसी र डीसी चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । यसबाट ग्राहकहरूलाई सेवा, पार्ट्स र ब्रान्ड सपोर्टमा कुनै कमी नहुने कम्पनीको दाबी छ ।
कार्यक्रममार्फत कम्पनीले ‘सफा र स्मार्ट भविष्य’ को यात्रालाई थप अघि बढाउने तथा ग्राहकहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।