जिन्नाको नाति नुस्ली वाडियाः टाटा-अम्बानीसँगको टकरावदेखि अर्बौंको साम्राज्यसम्मको यात्रा

काठमाडौं । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाका नाति नुस्ली वाडिया भारतका चर्चित अर्बपति व्यवसायीमध्ये एक हुन् । उनी वाडिया समूहका अध्यक्ष हुन्, जसले कपडा, विमान, रसायन र रियल स्टेटजस्ता क्षेत्रमा व्यापक व्यापारिक साम्राज्य फैलाएको छ ।

नुस्ली वाडियाका पिता नेविल वाडिया नामी व्यवसायी थिए भने आमा दीना वाडिया जिन्नाकी एक्ली छोरी थिइन् । वाडिया परिवार पुस्तौंदेखि भारतको व्यापारिक क्षेत्रको अग्रपंक्तिमा रहँदै आएको छ । नुस्लीले बम्बे डाइङ जस्ता कम्पनीहरू स्थापना गर्दै वाडिया समूहलाई नयाँ उचाइमा पुर्याए । उनी गोएयर एयरलाइन्स (हाल गो फर्स्ट) का संस्थापक पनि हुन् ।

टाटा र अम्बानीसँगको विवाद

वाडियाको व्यवसायिक यात्रा विवादरहित भने छैन । सन् २०१६ मा रतन टाटा र टाटा समूहसँगको मतभेदपछि उनले मानहानिको मुद्दा दायर गरे । त्यतिबेला उनलाई टाटा मोटर्सको स्वतन्त्र निर्देशक पदबाट हटाइएको थियो । यता उनी र धीरुभाई अम्बानीबीचको प्रतिस्पर्धा ‘पोलिएस्टर युद्ध’ का रूपमा चर्चित भयो, जसले भारतको कर्पोरेट इतिहासमा विशेष स्थान बनाएको छ ।

परिवार र पृष्ठभूमि

नुस्ली वाडियाको जन्म १५ फेब्रुअरी १९४४ मा मुम्बईमा भएको हो । उनको परिवार पारसी र मुस्लिम समुदायको मिश्रण हो । हजुरबा सर नेस वाडियाले बम्बईलाई कपडा उद्योगको केन्द्र बनाउने काममा अग्रणी भूमिका खेलेका थिए । नुस्लीका हजुरआमा बेलायती थिइन् ।

उनीसँग बेलायती नागरिकता पनि थियो । उनले फ्लोरिडा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरे । उनको व्यवसायिक यात्रा १९६२ मा बम्बे डाइङमा प्रशिक्षार्थीका रूपमा सुरु भएको हो । कम्पनीलाई संकटबाट जोगाउन उनले आफ्नै आमासँग मिली सेयर किनेर कम्पनी आफ्नो हातमा लिए ।

अहिलेको साम्राज्य

वाडिया समूह अन्तर्गत ब्रिटानिया इन्डस्ट्रीज, बम्बे डाइङ र गो फर्स्टजस्ता कम्पनीहरू पर्दछन् । यद्यपि गो फर्स्ट सन् २०२३ मा टाट पल्टिएको थियो । 

पारिवारिक जीवन

नुस्ली वाडियाको विवाह पूर्व एयर होस्टेस मौरीन वाडियासँग भएको हो । उनी ग्लाडर्याग्स पत्रिकाकी प्रमुख हुन् । साथै उनी मिसेज इण्डिया ब्यूटी प्रतियोगिताकी आयोजकमध्ये एक हुन् । उनका दुई छोरामध्ये नेस वाडिया आईपीएल टोली पंजाब किंग्सका सह-मालिक हुन् ।

नुस्ली वाडियाको नेटवर्थ ५.६ अर्ब डलर रहेको छ।

Share News