काठमाडौं । हुवावे र सेरेसको सहकार्यमा निर्माण गरिएको ठूलो आकारको क्रसओभर गाडी एइटो एम८ चीनमा सार्वजनिक हुनुअघि नै १ लाख अर्डर प्राप्त गर्दै चर्चाको शिखरमा पुगेको छ ।
मार्च ६ मा प्रि-सेल सुरु भएको यो गाडीको मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन सम्म रहेको छ । कम्पनीका अनुसार प्रि-सेल सुरु भएको पहिलो घण्टामै ७,५०० अर्डर प्राप्त भएका थिए ।
एइटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्यमा तयार गरिएको हो । सेरेसले च्यासिस डिजाइन तथा उत्पादनको जिम्मा लिएको छ भने हुवावेले प्रविधि, मुख्य कम्पोनेन्ट आपूर्ति र बिक्रीमा ध्यान केन्द्रित गरेको छ ।
फ्ल्यागशिप मोडेल एइटो एम९सँग मिल्दोजुल्दो एइटो एम८ एसयुभी ५१९० मिमि लामो, १९९९ मिमि चौडाइ, १७९५ मिमि उचाइ र ३१०५ मिमि ह्विलबेस सहित प्रस्तुत भएको छ। यसमा लीडर सेन्सर, एलईडी हेडलाइट, २१ इन्चका मल्टी स्पोक रिम, रिट्रयाक्टेबल डोर ह्यान्डल, तथा टिन्टेड रियर विन्डोज जस्ता अत्याधुनिक सुविधाहरू छन् ।
२०२४ मा एइटो ब्रान्डका अन्य तीन मोडेल - एम५, एम७ र एम९ - को कूल बिक्री ३८५,९०४ युनिट पुगेको थियो । अब एइटो एम८ चौथो मोडेलका रूपमा चिनियाँ बजारमा छिट्टै प्रवेश गर्दैछ ।