स्वास्थ्यमा प्रशासन होइन, उपचारमा जनशक्ति चाहिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा प्रशासनिक जनशक्ति विस्तार होइन, उपचार सेवामा जनशक्ति बढाउनु पर्ने स्पष्ट पारेका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर (पेडियाट्रिक अन्कोलोजी) वार्ड र पिआइसियु कक्षको उद्घाटन गर्दै उनले प्रशासनलाई साँघुरो बनाउँदै उपचार केन्द्रित पूर्वाधार र सेवामा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले भने, 'डाक्टर चाहिएको बेला प्रशासक ल्याएर त हुँदैन, अस्पतालका कोठाहरू उपचारका लागि प्रयोग गर्नुपर्छ ।' मन्त्री पौडेलले अस्पतालको सेवा विस्तारका लागि आवश्यक जग्गा अभाव भएको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायले शीघ्र सहकार्य गर्नुपर्ने बताए । 'भूमिसुधार कार्यालयबाट ढिलो भएकोले पूर्वाधार निर्माणको काम अगाडि बढ्न सकेको छैन,' उनले भने ।

मन्त्री पौडेलका अनुसार सरकारले १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको उपचार पूर्णरूपमा निःशुल्क गरिरहेको छ भने करिब ८० प्रतिशत औषधि पनि अस्पतालमा निःशुल्क उपलब्ध छ । त्यस्तै, स्टोक र हेमोफेलियाजस्ता जटिल रोगका औषधिहरू पनि तीनवटा अस्पतालमा निःशुल्क वितरण भइरहेको जानकारी दिए ।

'श्रोत छैन भनेर बसिरहने बेला होइन,' मन्त्री पौडेलले भने, 'हामी आन्तरिक स्रोत र साधनको अधिकतम उपयोग गर्दै स्थायी र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौँ ।' उनले प्रशासनलाई खुम्च्याएर उपचार सेवामा बढी लगानी गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले स्वास्थ्यसेवा विस्तारका लागि घोषणा मात्र होइन, कार्यान्वयनमै ध्यान केन्द्रित गर्दै अस्पतालको पूर्वाधार, सेवा र पहुँच विस्तारमा सरकार दृढ रहेको सन्देश दिएका छन् ।

Share News