ब्रिटिस काउन्सिलको 'कनेक्सन थ्रु कल्चर' अनुदानका लागि आवेदन खुला

काठमाडौं । नेपाल र बेलायतबीचको सिर्जनात्मक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप सशक्त बनाउन ब्रिटिस काउन्सिलले ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ सुरु भएको घोषणा गरेको छ ।

यस अनुदान कार्यक्रमअन्तर्गत नेपाली कलाकार, सांस्कृतिक अभियन्ता तथा सृजनात्मक संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्यमा आधारित परियोजनाका लागि आवेदन दिन आह्वान गरिएको छ ।

कार्यक्रम अन्तर्गत विश्वव्यापी कलात्मक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले १० हजार पाउन्ड स्टर्लिङ (झण्डै १८ लाख २० हजार रुपैयाँ) सम्मको अनुदान दिइनेछ । परियोजनाहरू संयुक्त कला कार्यशाला, प्रदर्शनी, मञ्चन, अनुसन्धान र डिजिटल कथा वाचनजस्ता विधामा हुन सक्नेछन् ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, 'यो कार्यक्रमले नेपाल र बेलायतका कलाकारहरूलाई साझा भविष्य निर्माणका लागि सृजनात्मक शक्तिको उपयोग गर्न प्रेरित गर्नेछ ।'

सन् २०२५ संस्करणका लागि आवेदन २८ अप्रिल २०२५ देखि खुला गरिएको हो भने २३ जून २०२५ बेलायती समय अनुसार साँझ ३ः१५० अन्तिम म्याद तोकिएको छ । परियोजनाहरू अक्टोबर २०२५ देखि सुरु हुनेछन् ।

ब्रिटिस काउन्सिलले यस वर्ष करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य लिएको छ । विशेष प्राथमिकता जलवायु परिवर्तन, विविधता तथा समावेशिता, र समानताको विषयमा केन्द्रित कलात्मक पहलकदमीहरूलाई दिइनेछ ।

ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भनेकी छन्, 'केवल अनुदान होइन, सृजनात्मक सहकार्य र सामाजिक रूपान्तरणको उत्प्रेरक हो । यस्ता परियोजनाहरूले कला र संस्कृतिबीच सशक्त सेतु निर्माण गर्छन् ।'

नेपालका दृश्यकला, साहित्य, चलचित्र, सङ्गीत, मञ्चीय कला, डिजिटल मिडिया, सम्पदा, फेसन र वास्तुकला क्षेत्रमा काम गरिरहेका कलाकार तथा संस्थाहरूलाई प्रत्यक्ष, डिजिटल वा मिश्रित ढाँचामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

Share News