काठमाडौं । जनरल मोटर्स, फोर्ड र स्टेलान्टिसलाई प्रतिनिधित्व गर्ने एक समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग घोषणा गरेको व्यापार सम्झौताको कडा आलोचना गरेको छ । समूहले यो सम्झौताले अमेरिकी अटो उद्योगलाई हानि पुर्याउने चेतावनी दिएको छ ।
यो सम्झौताअनुसार बेलायती कार निर्माताहरूलाई हरेक वर्ष १ लाख कारहरू अमेरिका पठाउन कोटा दिइनेछ, जुन १० प्रतिशत महसुल दरमा हुने छ । यो संख्या गत वर्ष बेलायतले निर्यात गरेको कुल संख्याको लगभग बराबर हो । यो दर मेक्सिको र क्यानडाको २५ प्रतिशत महसुल दर र अन्य अधिकांश देशहरूको दरको तुलनामा निकै कम हो ।
'यो सम्झौताअनुसार अमेरिकन अंशहरू नभएका बेलायती कारहरू अमेरिका ल्याउनु यूएसएमसीए अनुरूप आधा अमेरिकी अंश भएका मेक्सिको वा क्यानडाका कारहरू ल्याउनु भन्दा सस्तो पर्छ,' अमेरिकी अटोमोटिभ पोलिसी काउन्सिलले भन्यो । काउन्सिलले डेट्रोइट थ्री अटोमेकरहरूलाई प्रतिनिधित्व गर्छ ।
'यसले अमेरिकी अटोमेकरहरू, आपूर्तिकर्ताहरू र कामदारहरूलाई क्षति पुर्याउँछ । हामी आशा गर्छौं कि बेलायती गाडीहरूलाई दिइएको यो विशेष पहुँचले भविष्यमा एसियाली वा युरोपेली प्रतिस्पर्धीहरूसँग हुने वार्ताका लागि उदाहरण नबनोस्,’अटोमेकरहरूको समूहले थप्यो ।
अमेरिकी अटो निर्माता चिन्तित छन् कि यो सम्झौता अन्य देशहरूसँग हुने भविष्यका सम्झौताहरूको ढाँचा बन्न सक्नेछ, जसले उनीहरूले क्यानडा वा मेक्सिकोमा बनाउने गाडीहरूलाई कमजोर बनाउनेछ ।
शुक्रबार ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले भने, 'कुनै पनि राष्ट्रपतिले राष्ट्रपति ट्रम्पभन्दा बढी व्यक्तिगत रूपमा अमेरिकी अटो उद्योग पुनर्जीवित गर्न चासो देखाएका छैनन् । ट्रम्प प्रशासनले राष्ट्रिय र आर्थिक सुरक्षाका लागि आवश्यक उत्पादनहरू पुनः अमेरिकामै ल्याउने उद्देश्यले अटोमेकरहरूसँग मिलेर काम गरिरहेको छ, जसमा महसुल छुट र नियमन न्यूनीकरणजस्ता नीतिहरू छन् ।’
ट्रम्पले गत महिना गाडीहरूमा लगाइने महसुलको असर कम गर्दै केही पाट्र्स र कच्चा पदार्थहरूमा महसुलको प्रभाव घटाए पनि आयात गरिएका गाडीहरूमा २५ प्रतिशत महसुल कायम राखेका छन् । उनले यूएसएमसीए अनुरूपका उत्तर अमेरिकी अटो पार्ट्सहरूलाई महसुल छुट पनि निरन्तरता दिएका छन् ।
अटोमेकरहरूले आशा गरेका थिए कि ट्रम्पले गाडीको महसुल सहज बनाउनेछन् ।
फोर्डले यसै साता महसुलका कारण मेक्सिकोमा बनेका केही गाडीहरूको मूल्य बढाएको जनाएको छ । ट्रम्पको व्यापार युद्धले सन् २०२५ मा कम्पनीलाई लगभग २.५ अर्ब डलर थप खर्च हुने बताएको छ, तर करिब १ अर्ब डलरको बोझ कम गर्न सकिने आशा गरेको छ ।
जीएमले महसुलका कारण ४ अर्बदेखि ५ अर्ब डलरसम्मको लागत पर्ने जनाएको छ तर कम्तीमा ३० प्रतिशत क्षतिपूर्ति गर्न सकिने आशा गरेको छ । टोयोटाले भने अप्रिल र मे महिनाका लागि महसुल खर्च करिब १.२ अर्ब डलर हुने प्रक्षेपण गरेको छ ।
टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि