काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
मिस्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्यान्हमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ ।
विदेशमन्त्री मिस्रीले भने, ‘पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र भारतीय डीजीएमओबीच आज अपरान्ह फोन वार्ता भएको र उनीहरूबीच भारतीय समय अनुसार साँझ पाँच बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोला बारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
‘दुवै पक्षलाई आजदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । सैन्य अपरेसनका महानिर्देशकहरूबीच मे १२ मध्यान्ह १२ बजे फेरि कुरा गर्नेछन्,’ उनले भने ।
यसअघि शनिबार एक प्रेस ब्रिफिङको क्रममा मिस्रीले पाकिस्तानले भारत विरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताएका थिए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै भने, ‘पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् ।
उनले भने, ‘पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ।’
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताए ।
अमेरिकी विदेशमन्त्री रूबियोले भने, ‘बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जय शङ्कर, सेना प्रमुख असिम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ ।’
उनले भने, ‘भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धि मत्ता, विवेक र राजनेताको प्रशंसा गर्छौँ ।’
यसअघि गत मे २ मा पहलगाममा भएको आतङ्ककारी हमलाको जवाफमा भारतले मे ७ मा अप्रेसन सिन्दुर चलाएको थियो । उक्त आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो भने पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो ।