मन्त्री गुरुङको चेतावनी : सोसल मिडिया अब नियन्त्रणमा ल्याउनुपर्छ

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको अराजक प्रयोगलाई नियन्त्रणमा लिनु आजको अपरिहार्यता भएको स्पष्ट रूपमा बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले धर्म, राजनीति र राज्यशक्तिमाथि अनलाइन अफवाह र अराजक प्रहारले प्रेस नै बदनाम बनिरहेको उल्लेख गरे ।

उनले भने, 'राजतन्त्र राम्रो कि गणतन्त्र भन्नेमा युवा भड्किरहेका छन्, यसलाई सन्तुलित गर्ने जिम्मा प्रेसको हो। जहाँ प्रेस स्वतन्त्रता बलियो, त्यहाँ मात्र गणतन्त्र बलियो हुन्छ ।'

मन्त्री गुरुङले जलवायु परिवर्तनको विषयमा पनि मिडिया र प्रेसले सचेतना फैलाउने, बहस चलाउने र समाधानमुखी दृष्टिकोण अघि सार्नुपर्नेमा जोड दिए ।

'विकास भनेको व्यक्तिको सनक मात्र होइन,' उनले भने, 'अबको १० वर्षपछि त्यसले कस्तो असर पार्छ भन्नेबारे वातावरणीय सोच बिना विकासको अवधारणा अधुरो हुन्छ ।'

उनले हिमाली क्षेत्र लोमान्थाङमा जलवायु परिवर्तनले पारेको असरबारे ‘मिडिया समिट’बाट आउने सुझावहरू सरकारले गम्भीरतापूर्वक लिनुपर्ने पनि बताए ।

Share News