काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सांसदलाई कोष नभइ आफ्नो क्षेत्रका अधुरा परियोजनाहरूलाई पूरा गर्न अधिकार सम्पन्न बनाउनु महत्त्वपूर्ण रहेको दोहोर्याए ।
चौधरीले भने, ‘सांसद कोषको कुरा हुने गर्छ, सांसदलाई फण्ड होइन, अधिकार सम्पन्न बनाउने हो । कुनै सांसदले आफ्नो क्षेत्रका अधुरा प्रोजेक्टहरूलाई पुरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाइनुपर्छ ।’
उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावले जनताले पानी खान नपाएको बताउँदै यस्ता कैयौं उदाहरणहरू रहेको जिकिर गरे ।
सांसद चौधरीले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूलाई मूल्याङ्कन, अनुगमन र बजेट अभावको खण्डमा संवद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने धारणा राखे ।
उनले रोजगारीको लागि दैनिक तीन हजारको सङ्ख्यामा नेपालीहरू विदेशीएको तर्फ चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए ।