काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ ।
उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ ।
अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्याउने दाबी गरेको छ ।
यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।