काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्ने देखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशु चौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा अन्य कानुन विपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार, सार्वजनिकस्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म, छाडा छाडिएका पशु चौपायाले हानी नोक्सानी पुर्याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ ।
उनीहरुको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई ५० रुपैयाँ जरिवाना गरिने व्यवस्था गरेको छ । गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी भएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले लागू गरिएको यस आर्थिक कार्यविधिले यो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।