काठमाडौं । अमेरिकी कम्पनी टेस्लाको चीनमा निर्मित विद्युतीय सवारीसाधन (ईभी) को बिक्री अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६ प्रतिशतले घटेको छ । टेस्लाको बिक्री लगातार सातौं महिना घटेको हो ।
टेस्ला चीनका प्रतिस्पर्धीहरूबाट भइरहेको तीव्र प्रतिस्पर्धा र युरोपमा बिग्रँदै गएको ब्रान्ड छविका कारण प्रताडित भइरहेको छ ।
चीनमै उत्पादन भएका मोडेल थ्री र मोडेल वाई सवारीहरूको डेलिभरी- जुन चीनमै बिक्री र युरोप लगायतका निर्यात बजारका लागि हो– गत महिना ५८ हजार ४५९ युनिटमा झर्यो, जुन मार्चको तुलनामा २५.८ प्रतिशतले कम हो । यो विवरण चीन प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बुधबार दिएको हो ।
अप्रिलमा युरोपभर टेस्लाको बिक्रीमा तीव्र गिरावट आयो, जसको मुख्य कारण सीईओ एलन मस्कले युरोपमा दक्षिणपन्थी राजनीतिक विचार र उम्मेदवारहरूको समर्थन गर्नु मानिएको छ । चिनियाँ प्रतिस्पर्धीहरूले युरोपको बजार हिस्सा बढाएका छन् ।
संयुक्त राज्य अमेरिकामा पनि मस्कविरुद्ध प्रदर्शनहरू भएका छन्, जसले त्यहाँको बिक्रीमा नकारात्मक असर पारेको छ ।
युरोप र अमेरिकाको प्रमुख बजारमा बिक्रीमा आएको गिरावटको केही क्षतिपूर्ति गर्न टेस्लाले भारत र साउदी अरेबिया जस्ता नयाँ बजारहरूमा बिक्री विस्तार गर्ने प्रयास गरिरहेको छ । यी बजारमा चिनियाँ इभी ब्रान्डहरूले पनि विस्तारको योजना बनाइरहेका छन् । पहिलो त्रैमासिकमा टेस्लाको सबैभन्दा ठूलो बजार चीन नै थियो ।
टेस्लाको चिनियाँ प्रतिस्पर्धी बीवाईडीको 'ओसन' र 'डाइनेस्टी' लाइनअपमा ईभी र प्लग–इन हाइब्रिड सवारीहरू छन् । कम्पनीले अप्रिलमा विश्वव्यापी यात्रु सवारीको बिक्री वार्षिक रूपमा १९.४ प्रतिशतले बढाएर ३ लाख ७२ हजार ६१५ युनिट पुर्याएको छ ।
गत महिना शाङ्घाई अटो शोमा प्रदर्शन गरिएका दर्जनजति नयाँ इलेक्ट्रिक क्रसओभर मोडेलहरू टेस्लाको सबैभन्दा बढी बिक्ने मोडेल वाईलाई चुनौती दिनका लागि मूल्य निर्धारण गरिएको छ, जसले चीन र विश्वभर टेस्लामाथि थप दबाब सिर्जना गर्ने देखिन्छ ।
रोयटर्सका अनुसार टेस्लाले चीनमा आफ्नो बजार हिस्सा जोगाउनको लागि २०२६ देखि शाङ्घाईमा सस्तो मूल्यको मोडेल वाईको मास-प्रोडक्सन सुरु गर्ने योजना बनाएको छ ।
फरारीको ईभी पिचः तीन चरणको सार्वजनिक प्रदर्शन, २०२६ बाट ग्राहकको हातमा