काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।
यो नयाँ प्रणालीमार्फत बैंकका मर्चेन्टहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिसा र मास्टर कार्डहरू प्रयोग गरी भुक्तानी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले नेपालमा इकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याएको हो । नयाँ पेमेन्ट गेटवेको माध्यमबाट देश तथा विदेशमा रहेका ग्राहकहरूबाट अनलाइन भुक्तानी प्राप्ति अझ सरल र प्रभावकारी हुने बैंकले जनाएको छ ।
गेटवे सुरु भएपछि ट्राभल एजेन्सी, टुर अपरेटर, होटेल, एयरलाइन्स, अस्पताल लगायतका व्यवसायहरू विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ । यस सेवाले मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय स्तरमा व्यवसाय विस्तार गर्न सहयोग पुग्नेछ ।
गेटवेमार्फत हुने कारोबारमा थ्रिडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बैंकको दाबी छ ।
ग्लोबल आइएमई बैंकले नयाँ प्रविधिको माध्यमबाट ग्राहक र मर्चेन्ट दुवैको सेवा अनुभवलाई सरल, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउने अभियानलाई तीव्रता दिएको छ ।