ईभी संसारमा फरारीको उदय, २०२६ बाट ग्राहकको हातमा

काठमाडौं । विश्वप्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय मोडेलको डेलिभरी सन् २०२६ को अक्टोबरबाट सुरु गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो विग्नाले मंगलबार यस्तो जानकारी दिएका हुन् । कम्पनीले यो घोषणा पहिलो त्रैमासिकमा १५ प्रतिशत मुनाफा वृद्धिसँगै गरेको हो ।

फेब्रुअरीमा विग्नाले घोषणा गरेका थिए कि पेट्रोल इञ्जिनका लागि प्रसिद्ध फरारीको पहिलो इलेक्ट्रिक कार “क्यापिटल मार्केट डे“ का अवसरमा अक्टोबर ९ मा सार्वजनिक गरिनेछ । 

यद्यपि मंगलबार उनले भनेअनुसार अक्टोबरमा केवल उक्त कारको टेक्नोलोजिकल कोर मात्र देखाइनेछ ।

तीन चरणमा कारको सार्वजनिक गरिने बताइएको छ । 

'त्यसपछि केही महिनामै कारको डेलिभरी सुरु हुनेछ- अक्टोबर २०२६ बाट,' विग्नाले आम्दानी विवरण सार्वजनिक गरेपछि विश्लेषकहरूसँगको कुराकानीमा बताए । 

यो पहिलो पटक हो- जब फरारीले नयाँ कार ग्राहकहरूसम्म कहिले पुग्ने भन्ने समयावधि स्पष्ट गरेको हो ।

एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, 'यो भनेको फरारीको योजनामा केही ढिलाइ भएको संकेत हो, किनकि धेरैले कार यसै अक्टोबरमा पूर्ण रूपमा देखिने अपेक्षा गरेका थिए ।'

तथापि फरारीले कार अनावरण गरेपछि लगभग तीन क्वार्टरपछि मात्र डेलिभरी गर्ने चलन छ ।

फरारीले भविष्यमा पनि पेट्रोल र हाइब्रिड कारहरू सँगै ईभी बेच्ने योजना बनाएको छ । कम्पनीले २०१९ देखि बेच्न सुरु गरेका हाइब्रिड मोडेलहरूले २०२४ मा कुल बिक्रीको ५१ प्रतिशत हिस्सा ओगटेका थिए ।

 वार्षिक आर्थिक लक्ष्य कायमै

फरारीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले कम्पनीको सन् २०२५ को मुनाफा मार्जिनबाट ५० बेसिस पोइन्ट कटौती गर्न सक्ने चेतावनी दिएको छ ।

तर मर्सिडिज, फोर्ड र स्टेलान्टिसजस्ता अन्य कार निर्माता कम्पनीहरूले हालै आर्थिक पूर्वानुमान फिर्ता लिँदा पनि फरारीले आफ्नो वार्षिक आर्थिक लक्ष्य कायम राखेको छ । कम्पनीले सन् २०२५ सम्म कम्तीमा २.६८ अर्ब युरो (३.०४ अर्ब डलर) को ईबीआईटीडीए र कम्तीमा ३८.३ प्रतिशत मार्जिन कायम रहने विश्वास व्यक्त गरेको छ ।

'फरारी आत्मविश्वासी देखिन्छ,' बर्नस्टीनका विश्लेषकहरूले भने ।

मिलानको स्टक एक्सचेञ्जमा फरारीको सेयर मूल्य १.६ प्रतिशतले बढेर बन्द भएको थियो ।

कम्पनीको पहिलो त्रैमासिकमा मूल आम्दानी ६९३ मिलियन युरो पुगेको छ, जुन रोयटर्सको सर्भेअनुसार अपेक्षित ६८९ मिलियन युरोसँग मिल्दोजुल्दो छ ।

फरारीले गत साता नयाँ २९६ स्पेसियल प्लग-इन हाइब्रिड मोडेल र त्यसको कन्भर्टिबल संस्करण सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्षभित्र कुल ६ नयाँ मोडेल, जसमा पहिलो ईभी पनि समावेश छ सार्वजनिक गर्ने वाचा गरेको छ ।

बीवाईडीलगायत अन्यसँग प्रतिस्पर्धा 

फरारीलाई बीवाईडीसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नु पर्दैन किनकि दुवैका ग्राहक फरक छन् । तर ईभी प्रविधिमा प्रभुत्व राख्नका लागि ईभी बजारमा बीवाईडीजस्ता कम्पनीहरूको गति र नवप्रवर्तनको सामना गर्नुपर्ने देखिन्छ ।

यदि भविष्यमा फरारीले मिड-रेञ्ज ईभी उत्पादन गर्यो भने त्यसले बीवाईडीसँग केही हदसम्म प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।
 

Share News