नेक्सजेन म्यानेजमेन्ट अब पब्लिक कम्पनीमा जाने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स अब पब्लिक कम्पनीमा जाने भएको छ । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाले लिमिटेडमा जाने निर्णय गरेको हो ।

यसका साथै साधारणसभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्ब, तत्काल जारी पूँजी ५० करोड पुर्याउने निर्णय गरेको छ । साधारण सभामा प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिंङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको बताए ।

उनले सोको न्यूनीकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक नीति र हालै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइसकेको जानकारी गराए ।

सम्पति व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी वृद्धि गर्नु पर्ने तथा बैक वित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता औल्याउँदै सो निर्णय गरेको जनाएको छ ।

नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्क्रिय कर्जा नियमित गर्न, पुनः संचालन गर्न तथा बिक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ ।

यो कम्पनी पूर्व बैंकहरू समेतको लगानीमा खुलेको संस्था हो ।

कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजयकुमार मिश्रको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।

Share News